तनहुँको भानु नगरपालिका–५, पुरनडिही अस्पतालमा बनाइएको १७ शय्याका आइसोलेशन कक्ष । तस्बिर : रासस
तनहुँ । कोरोना सङ्क्रमित बढ्दै गएपछि तनहुँका स्थानीय तह आइसोलेशन निर्माणका लागि अग्रसर भएका छन् ।
सङ्क्रमितको उपचारका लागि जिल्लाका सबै स्थानीय तहले अक्सिजनसहित आइसोलेशन कक्ष तयार पारेका छन् । पछिल्लो समय भानु नगरपालिकाले १७ श्ययाको आइसोलेशन कक्ष तयार पारेको छ । भानु नगरपालिका–५ स्थित पुरनडिही नगर अस्पतालमा नगरपालिकाले आइसोलेशन कक्ष तयार गरेको हो ।
नगरपालिकाले तयार पारेको आइसोलेशन कक्षको जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेको नेतृत्वमा अनुगमन गरिएको छ । कोरोना रोकथाम र न्यूनीकरणका लागि जिल्लाका स्थानीय तहले गरिरहेको प्रयास उल्लेखनीय रहेको वाग्लेले बताए । वाग्लेले भानुले तयार गरेको आइसोलेशन कक्ष सन्तोषजनक रहेको प्रतिक्रिया दिए ।
प्रमुख जिल्ला अधिकारी सागर आचार्यले कोरोना महामारी नियन्त्रण र रोकथामका लागि जिल्लाका सबै स्थानीय तह अग्रसर भएर लागिपरेको बताए । भानु नगरपालिकाका प्रमुख उदयराज गौली, उपप्रमुख आशा थापा, प्रहरी उपरीक्षक अरुण पौडेल, स्वास्थ्य कार्यालयका प्रमुख शङ्करबाबु अधिकारी लगायतको सहभागिता थियो ।
आइसोलेशन कक्षमा श्यया थप गर्ने तयारी गरिएको नगरपालिकाका वरिष्ठ अधिकृत सुनिल पाण्डेले जानकारी दिए । अस्पतालमा अक्सिजनसहितको आइसोलेशन तयारी अवस्थामा राखिएको छ ।
नगरपालिकामा हाल आठ सक्रिय सङ्क्रमित रहेको र सबैको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य शाखाप्रमुख ऐश्वर्यचन्द्र भट्टराईले जानकारी दिए । नगरपालिकाले सबै वडामा कोरोना रोगसम्बन्धी परामर्शका लागि फोकल पर्सन तोकेको छ ।
वडा नं १ का लागि सन्तोष श्रेष्ठ, २ का लागि निर्मला अधिकारी, ३ का जितेन्द्र श्रेष्ठ, ४ का लागि सोविता राना, ५ का लागि डा सुरज श्रेष्ठ र स्मृति भण्डारी, ६ का लागि अञ्जु रानाभाट, ७ का लागि श्रीध्वज गुरुङ, ८ का लागि सुवास देवकोटा, ९ का लागि रश्मा पौडेल, १० का लागि अञ्जना अधिकारी र पाण्डव ढकाल, ११ का लागि देवीमाया गुरुङ, १२ का सुमन थापा मगर र सुश्मा गिरी र १३ का लागि रेवती सुनार फोकल पर्सन तोकिएका छन् । (रासस)
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।