गण्डकी प्रदेशमा मन्त्री परिषद बिस्तार हुँदै


     सन्देश श्रेष्ठ    
     जेठ ५ गते २०७८ मा प्रकाशित




फाइल फोटो

पोखरा । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आज मन्त्री परिषद बिस्तार गर्ने भएका छन् । मुख्यमन्त्री गुरुङले आफू मुख्यमन्त्री भएको एक हप्तापछि मन्त्री परिषद बिस्तार गर्न लागेका हुन् । गुरुङ गत बैशाख २९ गते दोश्रो पटक मुख्यमन्त्री बनेका थिए ।

नेकपा हुँदा दुई तिहाइ मतसहित मुख्यमन्त्री बनेका गुरुङ बिरुद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले संयुक्त रुपमा अविस्वासको प्रस्ताव ल्याएपछि अल्पमतमा परेका उनले बैशाख २६ गते राजिनामा थिए ।

अविस्वास प्रस्तावमा साथ दिएको राष्ट्रिय जनमोर्चाले बिपक्षी गठबन्धन बनाएर सरकार बनाउने निर्णय गरेपनि सो दलका २ सांसदले कांग्रेस नेतृत्वमा सरकार गठन गर्नका लागि मतदान गर्न अस्वीकार गरेपछि बहुमतीय सरकार बन्न सकेको थिएन । त्यसलगत्तै प्रदेश प्रमुखले गुरुङलाई ठूलो दल नेकपाको संसदीय दलको नेताको हैसियतले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

मुख्यमन्त्री बनेपनि कोरोना संक्रमण भएर स्वास्थ्य लाभ गरेकाले मन्त्री परिषद बिस्तार नगर्दा प्रदेशमा सरकार विहिनताको अवस्था बनेको भन्दै आलोचना भएको थियो ।

मुख्यमन्त्रीले आज पुरानै मन्त्रीहरुलाई निरन्तरता दिने गरी मन्त्री परिषद बिस्तार गर्ने योजना बनाएका छन् । विस्वासको मत प्राप्त नगरेसम्म मन्त्रालय नबढाउने योजना अनुसार उनले पुरानै मन्त्रीहरुलाई निरन्तरता दिन लागेको मुख्यमन्त्रीको प्रेस संयोजक विक्रम न्यौपानेले जानकारी दिए ।

उनका अनुसार आर्थिक मामिला तथा योजना मन्त्रीमा किरण गुरुङ, भौतिक पूर्वाधारमा रामशरण बस्नेत, उद्योग, पर्यटन, वन तथा वातारण मन्त्रीमा विकास लम्साल, सामाजिक विकासमा नरदेवी पुन र युवा तथा खेलकुदमा गुण्डा नाइके राजिव गुरुङ उर्फ दीपक मनाङेलाई नै निरन्तरता दिइनेछ । किरण गुरुङ, बस्नेत, लम्साल र पुन प्रदेश सरकार बनेदेखिकै मन्त्री हुन् भने मनाङे मुख्यमन्त्रीको पहिलो कार्यकालको अन्त्य तिर केहि दिनका लागि मन्त्री बनेका थिए ।

गुण्डा नाईकेलाई मन्त्री बनाएको भन्दै आलोचना भएपनि आगामी कार्यकालमा पनि निरन्तरता दिनेगरी मुख्यमन्त्रीले मनाङेलाई मन्त्री दोहो¥याउन लागेको श्रोतले बताएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।