महाराष्ट्रको गडचिरोलीमा माओवादी र प्रहरीबीच भिडन्त


     एभरेस्ट आवाज    
     जेठ ८ गते २०७८ मा प्रकाशित




प्रतिकात्मक तस्बीर

महाराष्ट्रको गडचिरोली जिल्लामा शुक्रबार बिहान प्रहरीको सी–६० कमान्डोसँग र माओवादी (नक्सलवादी) विद्रोहीको भिडन्त भएको छ।

भिडन्तमा १३ भारतीय माओवादी (नक्सलवादी) विद्रोहीको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।
इतापाल्लीस्थित कोटमीको जंगलमा बिहान ५ः३० बजे झडप भएको प्रहरीले बताएको छ ।

भारतीय नक्सलवादी समूहका नेताहरू भेला हुने सूचनाका आधारमा प्रहरीले गरेको कारबाहीमा उनीहरूको मृत्यु भएको गडचिरोलीका प्रहरीले जनाएको छ।

करिब एक घण्टा चलेको उक्त झडपमा बाँकी नक्सलवादी लडाकूहरू घना जंगलतर्फ भागेको प्रहरीले उल्लेख गरेको छ।

प्रहरीले घटनास्थलबाट विद्रोहीको शव बरामद गरेको छ र इलाकामा खोजी अभियान अझै जारी रहेको प्रहरीले बताएको छ।

झडपबारे विद्रोहीको तर्फबाट भने कुनै प्रतिक्रिया आइसकेको छैन। भारतमा नक्सलवादी विद्रोहीले लामो समयदेखि आन्दोलन गर्दै आएका छन्। महाराष्ट्रलगायत भारतका कतिपय राज्यमा उनीहरूको प्रभाव रहेको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।