स्वास्थ्य संकटकालबीच पनि टोकियो ओलम्पिकको तयारी तीव्र


     एभरेस्ट आवाज    
     जेठ ८ गते २०७८ मा प्रकाशित




जापानको राजधानी टोकियोमा हुने तय भएको ओलम्पिक प्रतियोगिताको तयारी तीव्र पारिएको छ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका पूर्वउपाध्यक्ष तथा टोकियो ओलम्पिकका इन्चार्ज जोन कोट्सले जापानका धेरै ठाउँमा संकटकाल लागु भएको भएपनि ओलम्पिक प्रतियोगिताको तयारी तीव्र रुपमा भइरहेको शुक्रबार जानकारी दिएका हुन्।

अघिल्लो वर्षका लागि तय गरिएको टोकियो ओलम्पिक कोरोनाभाइरसको महामारीका कारण एक वर्ष पछाडि सारिएको थियो। प्रतियोगिता एक वर्ष पछाडि सार्दा समेत महामारी कायमै रहेपनि प्रतियोगिता संचालन गर्ने गरी अहिले तयारी भइरहेको छ।

प्रतियोगिताको उद्घाटन हुन अब २ महिना मात्रै बाँकी रहँदापनि जापानका धेरै ठाउँमा कोरोनाभाइरस नियन्त्रणका लागि संकटकाल लगाइएको छ। जापानमा अहिले पनि कोरोनाभाइरसबाट मृत्यु भएका र संक्रमित भएकाहरुको संख्यामा वृद्धि हुँदै आएको अधिकारीहरुले जनाएका छन्।

अष्ट्रेलिया ओलम्पिक कमिटीका अध्यक्षसमेत रहेका कोट्सले भर्चुअल माध्यममार्फत प्रतियोगिताको तयारी सन्तोषजनक तरिकाले नै अगाडि बढिरहेको अष्ट्रेलियाबाट नै जानकारी दिएका हुन्।

प्रतियोगिताका आयोजकहरुमध्येका सरोकारवालाहरुसँग भएको तीनदिने बैठकपछि उनले स्वास्थ्यविज्ञहरुको सल्लाहअनुसार तयारीका कामहरु भइरहेको बताए। त्यसैगरी, विश्व स्वास्थ्य संगठनका मान्यता र निर्देशिकालाई पनि ध्यान दिइएको उनको भनाई छ।
रासस/एपी


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।