पाँचौँ दिनमा रोकियो भूकम्पको धक्का


     एभरेस्ट आवाज    
     जेठ १० गते २०७८ मा प्रकाशित




प्रतिकात्मक तस्बीर

लमजुङमा पाँचौ दिनमा भूकम्पको धक्का रोकिएपछि मस्र्याङ्दी गाउँपालिकाका वासिन्दा सुरक्षित भएको महशुस गरेका छन्।

जिल्लाको भुलभुले केन्द्रविन्दु बनाएर गत बुधबार बिहान ५ बजेर ४२ मिनेटमा ५ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएयता पटकपटक गरी शनिबार साँझ ६ बजेर १८ मिनेटसम्म नै धक्का गएपनि त्यसयता कुनै धक्का महशुस गरिएको छैन।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले विस्तारै भूकम्पको परकम्पन्न हराउँदै जाने जनाएको छ। जिल्लामा बुधबारदेखि शनिबारसम्मको अवधिमा १ सय वटा सानाठूला भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले जानकारी दिएका छन्।

त्यस्तै, चार रेक्टरभन्दा माथिका ६ वटा र सोभन्दा कमका ९४ वटा भूकम्प गएको उक्त केन्द्रले जनाएको छ। केन्द्रका अनुसार जिल्लामा अन्तिम पल्ट शनिबार साँझ ६ बजेर १८ मिनेट जाँदा २ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको थियो। त्यसयता कुनैपनि भूकम्पको धक्का भने जिल्लावासीले गरेका छैनन्। बुधबार बिहान गएको भूकम्पले मानवीयदेखि भौतिक संचरनामा क्षति पुगेको छ।

जिल्लाका स्थानीयहरु पटकपटक दिनरात नै भूकम्पको धक्का गएपछि त्रसित भएका थिए। पटकपटक आएको भूकम्पको धक्काले कुनैपनि बेला ज्यान जाने हो कि भनेर शनिबारसम्म स्थानीयवासी त्रसित भएर बस्न बाध्य भएपनि आज बिहानैबाट कुनै धक्का महसुश गर्न नपरेपछि अब भने केही हुँदैन भनेर खुशी भएका छन्।

स्थानीय वासिन्दा बुधबार रातिदेखि घर बाहिर सुत्न बाध्य थिए। रातिको समयमा समेत शुक्रबार रातिसम्म जिल्लामा पटकपटक भूकम्पको परकम्पन गएको थियो। जिल्लामा ४ दिन र ३ रात पटक पटक भूकम्पको धक्का महशुस भइरहेको थियो।

जिल्लामा सो भूकम्प जाँदा २ सय ८ घर पूर्ण क्षति र २ सय घरमा आंशिक क्षति पुगेको प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले बताएका छन्। उनका अनुसार जिल्लामा ६ जना घाइते भएका थिए। भूकम्प पीडितलाई तत्कालका लागि प्रशासनबाट केही राहत सामग्रीहरु पनि वितरण गरिरहेको छ।

रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।