विपक्षी गठबन्धन आज सर्वोच्च जाँदै


     एभरेस्ट आवाज    
     जेठ १० गते २०७८ मा प्रकाशित




फाइल तस्बीर

नेपाली काँग्रेसलगायत विपक्षी ५ दलका सांसदहरू आज (सोमबार) सर्वोच्च अदालत जाने भएका छन् ।

काँग्रेस, नेकपा माओवादी, नेकपा एमालेको माधवकुमार नेपाल पक्ष, जनता समाजवादीको बाबुराम भट्टराई–उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाका सांसद आज (सोमबार) सर्वोच्च जान लागेका हुन्।

प्रतिनिधिसभा विघटनविरूद्ध राजनीतिक र कानुनी लडाइँ लड्ने बताएको गठबन्धन आज सर्वोच्चमा रिट लिएर जान लागेको हो। उनीहरू काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति र प्रतिनिधिसभा बैठक तोक्न परमादेश माग्ने तयारीमा छन्।

यसअघि हिजो नै सर्वोच्च जाने तयारी गरे पनि सांसदको हस्ताक्षर गर्ने काम नसकिँदा आज मात्र अदालत जान लागिएको नेताहरुले बताएका छन्।

गत शुक्रबार देउवालाई संविधानको धारा ७६ ९५० अनुसार प्रधानमन्त्री बनाउन १४९ जना सांसदको हस्ताक्षर राष्ट्रपति कार्यालयमा पेश भएको थियो। देउवालाई प्रधानमन्त्री बनाउन तयार भएका सांसदहरू नै सर्वोच्च जान लागेका हुन्।

शुक्रबार राति नै सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेकी छन्। वैकल्पिक सरकार बन्ने अवस्था हुँदाहुँदै प्रतिनिधिसभा विघटन गरिएको भन्दै विपक्षी ५ दलले विरोध गरिरहेका छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।