जेठ १६ गतेदेखि गण्डकी प्रदेश सभाको अधिवेशन बोलाउन सिफारिस


     एभरेस्ट आवाज    
     जेठ ११ गते २०७८ मा प्रकाशित




पोखरा । गण्डकी प्रदेश सभाको बर्खे अधिवेशन यहि जेठ १६ गतेदेखि बोलाउन प्रदेश सरकारले सिफारिस गरेको छ ।

प्रदेश सरकार मन्त्री परिषदको मंगलबार बसेको बैठकले प्रदेश सभाको बर्खे अधिवेशन जेठ १६ गतेदेखि बोलाउन प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो । मन्त्री परिषद बैठकले बर्खे अधिवेशनको पहिलो बैठक बैशाख १६ गते दिउँसो दिउँसो १ बजे बोलाउन सिफारिश गरेको प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेतले जानकारी दिए ।

मन्त्री बस्नेतले बैठक पोखरा सभागृहमा बस्ने गरि बोलाउन सिफारिश गरेको बताए । यसअघी प्रदेश सभा भवन नदीपुरमा बस्दै आएको प्रदेश सभाको बैठक कोरोना महामारी शुरु हुने बेलाको समयमा पोखरा सभागृहमा बस्दै आएको थियो । तर पछिल्लो पटक प्रदेश सभाको विशेष अधिवेशन प्रदेश सभा भवन नदीपुरमै चलेको थियो ।

बर्खे अधिवेशनमा प्रदेश सरकारले बजेट ल्याउन पर्नेछ भने यहि समयमा मुख्यमन्त्रीले विस्वासको मत लिनुपर्नेछ । प्रदेश सरकारले असार १ गते बजेट ल्याउनै पर्ने संवैधानिक प्रावधान छ । त्यसअघि मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विस्वासको मत लिनुपर्नेछ । गत बैशाख २९ गते गुरुङ दोश्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएका थिए । ठूलो दलको हैसियतमा दोश्रो पटक मुख्यमन्त्री बनेका उनले १ महिना भित्रमा विश्वासको मत लिनुपर्ने बाध्यकारी अवस्था छ । त्यहि अवस्थालाई मध्यनजर गर्दै सरकारले अधिवेशन बोलाएको श्रोतले बताएको छ ।

यसअघी प्रदेश सभाको हिउँदे अधिवेशन चैत २५ गते शुरु भएर बैशाख २ गते अन्त्य भएको थियो । आफूबिरुद्ध बिपक्षी गठबन्धनले अविस्वास प्रस्ताव ल्याउने तयारी गरेपछि मुख्यमन्त्रीले रातारात अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखलाई सिफारिस गरेका थिए । तर बिपक्षी गठबन्धनले समावेदन गरेपछि तत्कालिन प्रदेश प्रमुख अमिक शेरचनले बैशाख १३ गतेदेखि विशेष अधिवेशन बोलाएका थिए ।

मन्त्री परिषद बैठकले भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयलाई प्रदेश सडक सम्बन्धि विधेयक निर्माण गर्न सैद्धान्तिक सहमति दिएको सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए । प्रदेश सडक सम्बन्धि विधेयक आवश्यक्ता महशुष गर्दै मन्त्री परिषदले त्यसको तयारीका लागि मन्त्रालयलाई सैद्धान्तिक अनुमति दिएको हो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।