सन्दीप लामिछाने ट्रिन्बागो नाइट राइडर्सबाट सीपीएल खेल्ने


     एभरेस्ट आवाज    
     जेठ १२ गते २०७८ मा प्रकाशित




तस्बीर: एजेन्सी

नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले सन् २०२१ को क्यारेबियन प्रिमियर लिग (सीपीएल) ट्रिन्बागो नाइट राइडर्सबाट खेल्ने भएका छन्।

राइडर्सले उनलाई ड्राफ्टमार्फत टोलीमा समावेश गरेको हो। लामिछानेले लगातार चौथो पटक सीपीएल खेल्ने अवसर पाएका हुन्।

सन् २०१८ मा उनी पहिलो पटक सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्समा ५ हजार अमेरिकी डलरमा अनुबन्धित भएका थिए। लामिछानेलाई सन् २०१९ मा दोस्रो पटक बार्बाडोस ट्रिडेन्टसले ७० हजार डलरमा तथा सन् २०२० मा जमैका तल्लावाहजले ९० हजार अमेरिकी डलरमा अनुबन्धित गरेको थियो।

यस पटक लामिछानेको अनुबन्धित रकम खुलाइएको छैन। लामिछाने सम्मिलित हुने नाइट राइडर्सका कप्तानमा केइरन पोलार्ड लगायत अन्य खेलाडीहरुमा सुनिल नराइन, दिनेश रामदिन, कोलिन मुरनो, ड्यारेन ब्राभो, लेन्ड सिमोन्स, सिकन्दर राजा, अखिल हुसेन, ख्यारी पिएरे छन्।

गत वर्षको सिपिएलमा लामिछानेले जमैकाका लागि ११ खेलमा १२ विकेट लिएका थिए। हालसम्म खेलेको सीपीएलका ३ वटै संस्करणमा उनले ३३ विकेट लिइसकेका छन्। सन् २०२१ को सीपीएल आगामी अगष्ट २८ देखि सेप्टेम्बर १९ सम्म संचालन हुनेछ।

रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।