पोखरामा विहानैदेखि लगातार वर्षा, सतर्कता अपनाऔँ

- ‘यास’ नामको चक्रवातका कारण भारत र बंगलादेशमा ठूलो क्षति । प्रतिघण्टा सरदर १३० देखि १४० किलोमिटर ‘यास’ आँधीको गति । आँधीका कारण २ जनाको मृत्यु । घरहरुमा व्यापक क्षति । ११ लाखभन्दा बढी मानिसको उद्धार ।


     एभरेस्ट आवाज    
     जेठ १३ गते २०७८ मा प्रकाशित




तस्बीरः फोटो पत्रकार राधी कँडेलको फेसबुकबाट

पोखरामा आज (बिहीबार) बिहानदेखि लगातार वर्षा भएको छ।

बुधबारसम्म मौसममा सामान्य बदली भइरहेको थियो। तर, बिहीबार विहानैदेखि लगातार वर्षा भइरहेको छ।

बंगालको खाडीबाट उत्पन्न भएको ‘यास’ नामक चक्रवातको प्रभावले वर्षा भएको जनाइएको छ। ‘यास’ नामक चक्रवातको प्रभावले अझै देशभर मेघगर्जन चट्याङसहित वर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पश्चिमी बंगालको खाडीमा विकसित भएको जलवायुको प्रभाव र शक्तिशाली चक्रवात ‘यास’ जमिनतर्फ प्रवेश गरिसकेको र उत्तर–पश्चिम सर्ने क्रममा रहेकोले केही दिन नेपालमा पनि असर पर्ने हुनाले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम पूर्वानूमान महाशाखाले अग्रह गरेको छ।

मौसम पूर्वानूमान महाशाखाले जनाएअनुसार आज (बिहीबार) देखि पर्सी शनिबारसम्म देशको गण्डकी प्रदेशलगायत प्रदेश नं १, प्रदेश २, बागमती र लुम्बिनी प्रदेशका स्थानहरुमा भार वर्षा हुनेछ। प्रदेश १, प्रदेश २, बागमती र लुम्बिनीलगातको तराई क्षेत्रमा अति भारी वर्षा, चट्याङ र उच्च वेगको हावा हुरी आउने संभावना रहेको महाशाखाले जनाएको छ।

गण्डकी लगायत प्रदेश १ र बागमती प्रदेशको हिमाली र उच्च पहाडी भेगमा भने वर्षासहित मध्यमसम्म हिमपात हुनसक्ने संभावना रहेको जनाइएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशको एक/दुई स्थानमा भने मेघगर्जन र चट्याङसहितको मध्यम वर्षा हुने जनाइएको छ।

हिँजो बुधबारसम्म प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी प्रदेशमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार बुधबार राजधानी काठमाण्डौं लगायत बागमती प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भएको थियो।

भारत र बंगलादेशमा ठूलो क्षति, ११ लाखभन्दा बढी मानिसको उद्धार

पूर्वी भारत र छिमेकी बंगलादेशमा भारी वर्षा सहितको चक्रवातका कारण लाखौं मानिस प्रभावित बनेका छन् । ‘यास’ नामको उक्त आँधीका कारण बुधबारसम्म ११ लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थलमा सारिएको अधिकारीहरुले बताएका छन्।

प्रारम्भिक विवरणमा आँधीका कारण २ जनाको मृत्यु भएको छ भने घरहरुमा व्यापक क्षति पुगेको छ। भारतका पूर्वी राज्यहरु पश्चिम बंगाल र उडिसामा शुरुवाती प्रभाव पारेको यो आँधी उत्तरतर्फ बढ्दै गएको छ। भारतीय मौसम विज्ञान विभागका अनुसार वर्षा सहितको यस आँधीको सरदर गति १३० देखि १४० किलोमिटर प्रतिघण्टा रहेको छ। समुद्री किनाराबाट उक्त आँधी जमिनमा आउन थालेको विभागले जनाएको छ। विभागका अनुसार बुधबार साँझसम्म उक्त आँधीको वेग कमजोर हुँदै जानेछ।

बंगलादेशमा तटवर्ती २ सय गाउँका हजारौं बासिन्दा आँधीको चपेटामा परेका छन्। समुद्रबाट आएका अग्ला अग्ला छालहरुले स्थानीयबासीका घर, पसल र खेतीपाती पूरै जलमग्न बनाएको छ। दक्षिणस्थित पटुवाखाली जिल्लाको रंगबाली गाउँका २० भन्दा बढी गाउँहरु पुरै डुबानमा परेको एक अधिकारीले जानकारी दिएका छन्। नदीका दुई वटा तटबन्ध भत्किएर गाउँ पूरै डुबेको बताउँदै कम्तीमा १५ हजार व्यक्तिलाई आपतकालीन केन्द्रहरुमा राखिएको ति अधिकारीले जानकारी गराएका छन्।

भारतमा पनि टेलिभिजनहरूले पश्चिम बंगालको डिघासमेतका तटीय क्षेत्रका सडकहरुमा घुँडा घुँडा पानी आएको दृश्य देखाएका छन्। भारी वर्षाका कारण धेरै ठाउँमा नदीका तटबन्धहरू फुटेका छन्। पश्चिम बंगालका मुख्यमन्त्री ममता बनर्जीले सम्वाददाताहरुसँग कुरा गर्दै तटीय क्षेत्रका बासिन्दाका २० हजारभन्दा बढी अस्थायी माटाले बनाएका घर क्षतिग्रस्त भएको जानकारी दिएकी छन्।

मंगलबार यतीमात्र उडिसाका चन्दबाली र पारादीप क्षेत्रमा १७ सेन्टीमिटरभन्दा बढी वर्षा भएको थियो। यहाँको स्थानीय मौसम कार्यालयले १३ फिटसम्मका अग्ला समुद्री छालहरू आउन सक्ने प्रक्षेपण गरेको छ। कोलकाता र भुवनेश्वरका विमानस्थल बन्द गरिएका छन् भने रेलसेवा रद्द गरिएको छ। माछा मार्ने डुंगाहरूलाई सुरक्षित स्थानमा रहन भनिएको छ।

कोरोनाभाइरस महामारी फैलिइरहेकै अवस्थामा आएको यस समुद्री आँधीले कोभिड–१९ को नियन्त्रणमा अर्को चुनौती थप्नेछ। गत साता भारतकै पश्चिमी तटीय क्षेत्रमा आएको ‘ताउते’ नामको समुद्री आँधीका कारण १ सय ४० भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो।

उडिसाका मुख्यमन्त्री नवीन पटनायकले आश्रयस्थलमा रहेका नागरिकलाई मास्क लगाउन र सामाजिक दूरी कायम राख्न आह्वान गरेका छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।