एसईईको नतिजा आन्तरिक मूल्यांकनबाटै सार्वजनिक गर्ने सरकारको निर्णय


     एभरेस्ट आवाज    
     जेठ १८ गते २०७८ मा प्रकाशित




फाइल तस्बीर

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) गत वर्ष जस्तै नहुने भएको छ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले आन्तरिक मूल्यांकनबाट एसईई परीक्षाको नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो।

विभागीय मन्त्रालय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद बैठकले आन्तरिक मूल्यांकनबाटै नतिजा सार्वजनिक गर्ने निर्णय गरेको स्रोतले जानकारी दिएको छ।

यस वर्ष जेठ १३ गतेदेखि एसइईको परीक्षा तोकिएको थियो। यद्यपि, कोरोना संक्रमण बढ्दै जाँदा सम्भव नदेखिएको भन्दै राष्ट्रिय परीक्षा बोर्डले परीक्षा वैकल्पिक विधिबाट संचालन गर्ने अनुमति माग्दै शिक्षा मन्त्रालयलाई पत्राचार गरेको थियो। देशभरीबाट ५ लाख १७ हजार विद्यार्थी एसईईको तयारीमा छन्।

गतवर्ष पनि अहिलेको जस्तै अवस्था आएपछि सम्बन्धित विद्यालय आफैले आन्तरिक मूल्यांकन गरी पठाएको अंकका आधारमा बोर्डले नतिजा प्रमाणीकरण र सार्वजनिक गरेको थियो। सरोकारवालाले यस वर्षपनि आन्तरिक मूल्यांकन गराउन सुझाव दिएका थिए।

एसईई दिने परीक्षार्थी सबैको इन्टरनेट, ल्यापटप र कम्प्युटर नहुने भएको र मोबाइलबाट कक्षा लिएजस्तै परीक्षा दिन नसकिने भन्दै आन्तरिक मूल्यांकन विधि नै उपयुक्त भएको सुझाव दिइएको थियो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।