कास्केली सांसद गुरुङले के बोले ? जुन रेकर्डबाट हटाइयो !


     एभरेस्ट आवाज    
     जेठ १९ गते २०७८ मा प्रकाशित




गण्डकी प्रदेश सभा सदस्य मनबहादुर गुरुङले प्रदेश सभामा बोलेको केहि अंश रेकर्डबाट हटाइएको छ । गण्डकी प्रदेश सभामा प्रस्तुत गरिएको बजेटको सिद्धान्त र प्राथमिकता माथिको छलफलमा भाग लिदै प्रदेश सभा सदस्य मनबहादुर गुरुङले विशेष अधिवेशनका बेला गत बैशाख १५ गते अविश्वासको प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची बनाउने कार्यव्यवस्था परामर्श समितिका सदस्यहरुले नैतिकताका आधारमा राजिनामा दिनुपर्ने बताएका थिए । बोल्ने क्रममै सभामुख नेत्रनाथ अधिकारीले सांसद गुरुङलाई सचेत गराएका थिए । यद्वपी उनले सो धारणा व्यक्त गरिसकेका कारण सो भाषणको अंशलाई सभामुख अधिकारीले रेकर्डबाट हटाउने संसदलाई जानकारी दिए ।

बिपक्षी गठबन्धनका सांसदहरुले अल्पमतको सरकार कामचलाउ सरकारका रुपमा रहने भएकाले बजेट ल्याउने नैतिकता नहुने भन्दै बजेटको सिद्धान्त र प्राथमिकता माथि छलफल रोक्न माग गरेपछि आक्रोसित बनेका सत्तापक्षीय एमाले सांसद मनबहादुर गुरुङले भनेका थिए,‘नैतिकता मापन गर्ने यन्त्र त मैले कतैपनि देखेको छैन । यो मापन गर्ने यन्त्र भनेको त जनता हो जस्तो लाग्छ मलाई । हिजो ३ वर्ष अघि जनताको धेरै मत लिएर ठूलो दल बनेको त्यहि नैतिकता होइन । यसले भएन भने फेरिपनि हामी जनताको बिचमा जान खोज्दैछौं । यहि होइन मापन भनेको ।

हामीले बैशाख १३ गते संसदको विशेष अधिवेशन बोलाएको होइन ? त्यसरी बोलाएको विशेष अधिवेशन छलफल गर्नकै लागि होइन ? अविश्वास प्रस्ताव माथि मतदान गर्ने भनेर बैशाअ १५ गते कार्यसूची आइसकेको अवस्थामा संसद स्थगत भएको सूचना टाँस गरेको सरकारले हो ? सत्तापक्षीले हो ? के यसमा नैतिकता छ भने कार्य व्यवस्था परामर्श समितिमा बस्नेहरुले राजिनामा दिनु पर्दैन ? ।’

गत बैशाख १५ गते अविश्वासको प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची भएपनि जनमोर्चाका सांसद खिमविक्रम शाही बेपत्ता भएपछि उनको खोजीका लागि उनको पार्टी जनमोर्चाकी सचेतक पियारी थापाले संसद सचिवालयमा निवेदन दिएको आधारमा सभामुख नेत्रनाथ अधिकारीले संसद बैठक अनिश्चितकालका लागि स्थगित गरेका थिए । सो विषयमा सभामुखको आलोचना भएको थियो । एमाले सांसद गुरुङले यहि विषय स्मरण गराएपछि सभामुखले उनले बोलेको भाषणको केहि अंश रेकर्डबाट हटाउन निर्देशन दिएका हुन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।