राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सांसद कृष्ण थापा पदमुक्त


     एभरेस्ट आवाज    
     जेठ २० गते २०७८ मा प्रकाशित




फाइल तस्बिर ।

पोखरा । राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सांसद कृष्ण थापा पदमुक्त भएका छन् ।

थापालाई दलबाट निष्कासन गरेको पत्र जनमोर्चाले बिहीबार (आज) प्रदेशसभा सचिवालयमा गराएको थियो । सोही पत्रबमोजिम सभामुख नेत्रनाथ अधिकारीले आज सुरु भएको प्रदेशसभा बैठकमा थापालाई दलबाट निष्कासन गरेको पत्र आएको जानकारी दिए । यो संगै थापाको प्रदेशसभा सदस्य पद रिक्त रहेको सभामुखले बताए ।

गण्डकी प्रदेशको सरकार परिवर्तन गर्न जनमोर्चाले गरेको निर्णय सांसद थापाले मानेका थिएनन् । चालु बजेट अधिवेशनमा बोल्दै सांसद थापाले काँग्रेस नेतृत्वको सरकार बनाउन आफूले सहयोग गर्न नसक्ने र गुरुङ नेतृत्वकै सरकार जोगाउनुपर्ने धारणा राखेका थिए । पार्टी निर्णय विपरित काँग्रेस नेतृत्वमा सरकार बनाउन हस्ताक्षर नगरेपछि उनलाई जनमोर्चाले पार्टी साधारण सदस्यबाट समेत हटाएको थियो ।

राजनीतिक दल सम्बन्धी ऐनमा पार्टीबाट निर्वाचित सांसद पार्टी सदस्यबाट पदमुक्त भएको जानकारी संसद सचिवालयमा बुझाएपछि संसदबाट पनि पदमुक्त हुने व्यवस्था रहेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।