पत्रकार बास्तोलाको निधनप्रति नेपाल पत्रकार महासंघ गण्डकी स्तब्ध


     एभरेस्ट आवाज    
     जेठ २७ गते २०७८ मा प्रकाशित



पोखरा । कोरोना भाइरस संक्रमणका कारण पोखराका अग्रज पत्रकार यज्ञप्रसाद बास्तोलाको निधन प्रति नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समितिले गहिरो दुःख व्यक्त गरेको छ ।

नेपाल पत्रकार महासंघ कास्कीका सदस्य समेत रहेका बाँस्तोलाको निधनप्रति समितिले आज एक शोक विज्ञप्ती जारी गर्दै दुःख व्यक्त गरेको हो ।

कोरोना संक्रमित भई रिजनल अस्पताल पोखरामा उपचाररत बास्तोलाको बिहीबार बिहान ३ः१० बजे चरक मेमोरियल अस्पाताल पोखरामा निधन भएको हो । उनलाई स्वास्थ्यमा समस्या देखिएपछि बुधबारमात्रै चरक मेमोरियल अस्पतालमा भर्ना गरिएको थियो ।

७० वर्षका बास्तोलाको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल, उर्जाशील, इमानदार र यस क्षेत्रको एक अभिभावक गुमाएको महासंघ गण्डकीका महासचिव गोविन्दप्रसाद सुवेदीद्वारा जारी विज्ञप्तीमा भनिएको छ । ‘यस दुःखद् क्षणमा स्वर्गीय पत्रकार बास्तोलाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाँको आत्माको चिरशान्तिको कामना गर्दै शोकको यस घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दै गहिरो समवेदना व्यक्त गर्दछ ।’ विज्ञप्तीमा भनिएको छ ।

कास्कीको पुरन्चौरमा २०२८ सालमा जन्मिएका पत्रकार बास्तोलाले पोखरामा झण्डै ४ दशक पत्रकारिता गरेका थिए । उनले माछापुच्छ्रे एफएम, माइक्रो न्युज, आर्दश समाज र स्वतन्त्र सन्देशमा कार्यक्रम प्रस्तोतादेखि सहसम्पादक र सम्पादकको भूमिका निर्वाह गरिसकेका छन् ।


स्वर्गिय पत्रकार बास्तोलाका दुई श्रीमति, तीन छोरी र एक छोरा छन् ।

कोरोनाकै कारण गण्डकी प्रदेशमा तीन जना पत्रकारको निधन भएको छ भने ११७ जना भन्दा बढी पत्रकार संक्रमित भएको पनि विज्ञप्तीमा जनाइएको छ ।

साथै कोरोना संक्रमणको चुनौतीपूर्ण अवस्थामा सम्भावित जोखिमको ख्याल गरि सम्पूर्ण स्वास्थ्य सुरक्षाका उपायहरु अवलम्बन गर्दै पेशागत कार्यमा जुट्न सबै पत्रकारमा अपिल समेत गरेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।