विश्वकप छनोट: नेपालले आज अष्ट्रेलियासँग खेल्दै

- प्रशिक्षक अलमुताइरी भन्छन, ‘विश्वकप छनौटको अन्तिम खेलमा राम्रो खेल्ने छौँ । नतिजा भन्दा पनि राम्रो खेल खेल्ने लक्ष्यसहित नेपाल मैदानमा उत्रनेछ।’


     एभरेस्ट आवाज    
     जेठ २८ गते २०७८ मा प्रकाशित




तस्बीरः एन्फा

फिफा विश्वकप–२०२२ तथा एसियन कप–२०२३ अन्तर्गत दोस्रो चरणको छनोटको अन्तिम खेलमा नेपालले आज (शुक्रबार) अष्ट्रेलियासँग खेल्दैछ ।

कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा नेपाली समय अनुसार राति पौने दस बजे नेपालले अष्ट्रेलियासँग खेल्नेछ। एसियाली फुटबलको पावरहाउस अष्ट्रेलियालाई पराजित गर्नु नेपाललाई फलामको च्यूरा चपाउनुसरह हुनेछ।

विश्वकप छनोटको तेस्रो चरणमा पुग्ने मौका गुमाइसकेको नेपालको प्ले–अफको माध्यमबाट एसियन कप छनौटको तेस्रो चरण पुग्ने संभावना भने बाँकी राखेको छ।

कुवेतको जावेर एल अहमद अन्तर्राष्ट्रिय रंगशालामा हुने खेलमा पाँच पटक विश्वकप खेलिसकेको अष्ट्रेलिया पनि नेपाललाई हराएर विश्वकपको तेस्रो चरणको छनोटमा पुग्ने उद्देश्यले मैदानमा उत्रनेछ।

समूह ‘बी’ को छनौट अन्तर्गत अहिलेसम्म खेलिएका ६ खेलमा लगाता जितसहित अष्ट्रेलिया १८ अंक जोडेर शीर्ष स्थानमा छ। इता, नेपाल भने ७ खेलबाट ६ अंकसहित चौंथो स्थानमा छ।

अन्तिम खेलमा राम्रो खेल्ने छौँ: प्रशिक्षक अलमुताइरी

नेपाली राष्ट्रिय फुटल टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले फिफा विश्वकप २०२२ तथा एशियन कप २०२३ को छनौट अन्तिम खेलमा नेपालको लक्ष्य राम्रो प्रदर्शन गर्ने रहेको बताएका छन्।

फाइल तस्बीर

समूह ‘बी’ को नेपालले समूह चरणको अन्तिम खेलमा शनिरबार अष्ट्रेलियाको सामना गर्दैछ। खेलअघि प्रेस कन्फरेन्सका क्रममा प्रशिक्षक अलमुताइरीले सो कुरा बताए हुन्।

‘अर्को राम्रो खेल खेल्नुपर्ने छ। नतिजा भन्दा पनि नेपाल राम्रो खेल खेल्ने लक्ष्यसहित मैदानमा उत्रनेछ,’ उनले भनेका छन्, ‘नेपालको इतिहास हेर्ने हो भने लामो पासमा धेरै खेलेको देखिन्थ्यो, त्यसमा केही परिवर्तन गरिएको छ। हामीले आफ्नो खेल्ने शैलीमा केही परिवर्तन गरेका थियौं, त्यसको नतिजा देखिएको छ।’

उनले छोटो समयमा नै नतिजाबारे सोच्न सहज नहुने समेत बताए।

‘नतिजा पनि महत्वपूर्ण हुन्छ, तर छोटो समयमा हामीले समर्थकहरुलाई खुसी दिन सकेका छौं। हामीले भविष्यमा थप सकारात्मक नतिजा दिने संकेत दिएका छौं,’ उनले भनेका छन्, ‘जुलाईमा युरोपेली र अफ्रिकी राष्ट्रसँग मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम छ। सेप्टेम्बरको साफ च्याम्पियनसिपको लागि हाम्रो मुख्य तयारी हो। त्यसको लागि हामी दीर्घकालीन योजना लिएर अघि बढेका छौं र सुधार पनि देखिएको छ।’

यस्तै प्रशिक्षक अब्दुल्लाहले अष्ट्रेलियासँगको खेलमा टोलीमा रहेका केही युवा खेलाडीलाई डेब्यु गर्ने संकेत दिएका छन्। कमल थापा, सुरज जिउ ठकुरी र आयुष घलान पहिलो पटक राष्ट्रिय टोलीमा पर्दै डेब्युको प्रतीक्षामा छन्।

उनले उल्लेख गरेका छन्, ‘युवा खेलाडीलाई पनि डेब्युको अवसर हुन सक्छ। कमल, सुरज र आयुषले सिनियर टोलीबाट डेब्यु गरेका छैनन्। उनीहरुले सिनियर टोलीमा डेब्यु शुरु गर्दै आफ्नो करिअर अर्को स्तरमा लग्नुपर्छ। अष्ट्रेलियाविरुद्ध डेब्यु गर्न पाउनु सामान्य होइन, तर उनीहरुले आफूलाई यस्तै परिस्थितिमा परिक्षण गर्न जरुरि पनि छ।’


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।