तस्बीरः एन्फा
फिफा विश्वकप २०२२ तथा एशियन कप २०२३ छनौट अन्तर्गत अष्ट्रेलियाबिरुद्धको दोश्रो चरणको खेलमा नेपाल पराजित बनेको छ।
हारसँगै, सन् २०२३ मा हुने एशियन कपमा पुग्न प्ले–अफको मौका भने नेपालले जीवित नै राखेको छ।
कुवेतस्थित जावेर अल अहमद अन्तर्राष्ट्रिय रंगशालामा सम्पन्न अष्ट्रेलियाबिरुद्ध दोश्रो चरणको खेलमा नेपालले ३–० को गोल अन्तरले हार ब्यहोरोको हो। जितसँगै अष्ट्रेलिया भने एक खेल अगावै फिफा विश्वकप र एशियन कप छनौटको अर्काे चरणमा पुग्न सफल भएको छ।
खेलको छैठौ मिनेटमा कप्तान म्याथ्यु लेकीको हेडर गोलबाट अष्ट्रेलियाले नेपालमाथि शुरुवाती अग्रता बढायो। यस्तै, खेलको ३८ औं मिनटमा कप्तान म्याथ्यु लेकीको सुन्दर पासमा फ्रान कारासिसले ‘वान टच’ मा गोल गर्दै पहिलो हाफअघि अष्ट्रेलियाको अग्रता दोब्बर बनाए।
यसैबिचमा पहिलो हाफको अन्तिम मिनटमा अष्ट्रेलियाका मार्टिन बोएलमाथि फाउल गरेको आरोपमा रोहित चन्द रातो कार्ड खाँदै मैदानबाट बाहिरिदाँ नेपाल १० खेलाडीमा झरेको थियो।
यसपछि, खेलको ५७ औै मिनेटमा ज्याक्सन इर्भाइनको पासमा बोएलले गोल गर्दै अष्ट्रेलियालाई ३–० गोल अन्तरको निर्णायक जित दिलाए।
नेपालले विश्वकप छनोट अन्तर्गत दोस्रो चरणको अन्तिम खेलमा अष्ट्रेलियासँग खेलेको हो। समूह ‘बी’ को शिर्षस्थानमा रहेको अष्ट्रेलियाको ७ खेलपछि २१ अंक छ। यस्तै, हारसँगै नेपालले सबै ८ खेलमा जम्मा ६ अंक जोड्दै तालिकाको चौथो स्थानमा छ। तर, नेपाल सबै समूहका शीर्ष ४ मा रहेकाहरुको उत्कृष्ट ४ को दौडमा नरहेकोले नेपालको एशियन कपको खेल्ने संभावना प्ले–अफमा निर्भर रहनेछ।
यसअघि, प्रतियोगिता अन्तर्गत सन् २०१९ मा भएकोे पहिलो खेलमा पनि नेपाल अष्ट्रेलियासँग ५–० गोलको फराकिलो अन्तरले पराजित भएको थियो। फिफा विश्व वरीयतामा अष्ट्रेलिया नेपाल भन्दा १३० स्थान माथि छ।
वीर गोर्खालीले जस्तै डटेर खेल्यौंः प्रशिक्षक अलमुताइरी
राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपालले अष्ट्रेलियाविरुद्ध वीर गोर्खाली जस्तै प्रर्दशन गरेको बताएका छन्। विश्वकप छनोटको अन्तिम खेलमा अष्ट्रेलियासँग ३–० ले पराजित बनेपछि मुख्य प्रशिक्षक अलमुताइरीले आफ्ना खेलाडीको प्रशंसा गरेका हुन्। उनले वीर गोर्खाली जस्तै खेलाडीले मैदानमा प्रर्दशन गरेको दाबी गरे।

‘हामीले गोर्खाली जस्तै खेल्यौं। १० खेलाडीमा सीमित बनेपनि केही फरक परेन। खेलाडीले हर सेकेन्ड मेहेनत गरेर खेले,’ अलमुताईरीले खेलपछि भने।
पहिलो हाफको अन्तिम मिनेटमा नेपाल १० खेलाडीमा सीमित बनेको थियो। डिफेन्डर रोहित चन्द रातो कार्ड खादै मैदान बाहिरिएपछि नेपाल १० खेलाडीमा सीमित बनेको थियो। सो अवस्थामा नेपाल २–० ले पछि थियो। दोस्रो हाफमा अष्ट्रेलियाले थप एक गोलमात्र गर्न सफल बन्यो।
मुख्य प्रशिक्षक अलमुताइरीले अष्ट्रेलियाविरुद्ध युवा खेलाडी आयुष घलान, कमल थापा र सुरजजिउ ठकुरीलाई राष्ट्रिय टिमबाट डेब्यु गराए।
‘हामीले आफ्नो उत्कृष्ट खेल देखायौं। हामीले काउन्टरमा खेल्ने प्रयास गरेका थियौँ। हामीले रक्षात्मक खेल्ने प्रयास नै गरेनौं,’ अब्दुल्लाहले भने।
प्रशिक्षक अब्दुल्लाहले अष्ट्रेलियाले नेपाललाई सम्मान गरेर प्रर्दशन गरेको बताए। उनले कुवेत, जोर्डन जस्ता बलियो टिमहरुसँग खेल्ने अष्ट्रेलियाविरुद्ध नेपालले उत्कृष्ट प्रदर्शन गरेको बताए। उनले अष्ट्रेलियाले नेपालविरुद्ध सम्मान देखाएर बलियो टिम उतारेको प्रतिक्रिया दिए।
नेपाल पहिलो लेगको खेलमा अष्ट्रेलियासंग ५–० ले पराजित बनेको थियो। अष्ट्रेलियन प्रशिक्षक ग्राहम अर्नोल्डले नेपालको चुनौती दिने मानसिकताको खुलेर प्रशंसा गरे।
‘उनीहरु एक पछि अर्को गर्दै चुनौती दिए । उनीहरु दौडिन रोकिएनन् । तर हामी निश्चित काम गर्न यहाँ आएका छौं । त्यो पुरा भएको छैन ।’ उनले भने ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







