युरोकप : बेल्जियम र फिनल्याण्डको जित, वेल्स र स्वीटजरल्याण्डले बराबरी खेल्यो


     एभरेस्ट आवाज    
     जेठ ३० गते २०७८ मा प्रकाशित




तस्बीरः युइएफए

यस पटकको युरोकपको दोस्रो दिन बेल्जियम, फिनल्याण्डले जित निकालेको छ भने वेल्स र स्वीटजरल्याण्डले बराबरी नतिजा निकालेको छ।

युरो कप फुटबलमा बेल्जियमले विजयी सुरुवात गरेको हो।

शनिबार राति भएको खेलमा घरेलु टिम रुसलाई ३–० गोल अन्तरले पराजित गर्दै बेल्जियमले सुखद सुरुवात गरेको हो।

सेन्ट पिटर्सवर्गमा बेल्जियमलाई जित दिलाउन रोमेलु लुकाकुले २ गोल गरे। यस्तै थोमस मुनिएरको नाममा एक गोल रह्यो।

खेलको दशौँ मिनेटमा लुकाकुले गोल गर्दै बेल्जियमलाई सुरुवाती अग्रता दिलाएका थिए।

गोलपछि लुकाकुले आफ्नो गोल खेल दौरान हृदयघात भएर अस्पताल भर्ना भएका इन्टर मिलानका सहकर्मी तथा डेनमार्कका क्रिस्टियन एरिक्सनलाई समर्पण गरे। फिनल्याण्डविरुद्धको खेल दौरान अचेत भएका एरिक्सन खतरामुक्त रहेको बताइएको छ।

तस्बीरः युइएफए

खेलको ३४ औं मिनेटमा थोमसले गोल गर्दै बेल्जियमलाई २–० को अग्रता दिलाए। बेल्जियमले खेलको ८८ औं मिनेटमा लुकाकुले व्यक्तिगत दोस्रो गोल गर्दै बेल्जियमलाई ३–० को जित दिलाए।
जितसँगै बेल्जियमले युरो कपको पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ। यस समूहमा ३ अंक जोडेको फिनल्याण्ड दोस्रो स्थानमा रहेको छ। डेनमार्क अंकविहीन रहदै तेस्रो स्थानमा रहेको छ।

फिनल्याण्डको ऐतिहासिक जित

त्यस्तै, शनिबार नै भएको खेलमा फिनल्याण्डले १६ औं संस्करणको युरोकप फुटबलमा विजयी सुरुवात गरेको छ। कोपनहेगनमा शनिबार राति डेनमार्कलाई १–० गोल अन्तरले पराजित गर्दै फिनल्याण्डले सुखद सुरुवात गरेको हो। फिनल्याण्डको जितमा जोएल पोहनपालोले निर्णायक गोल गरे। जोएलले खेलको ५९ औं मिनेटमा गोल गरेका थिए।

तस्बीरः युइएफए

यस्तै, डेनमार्क पेनाल्टीमा गोल गर्न चुकेको थियो। खेलको ७४ औं मिनेटमा पिएरे इमिल गोल गर्न चुकेका थिए। फिनल्याण्डका खेलाडीले युसुफ पाउलसेनलाई लडाएपछि पाएको पेनाल्टीमा इमिलको प्रहार फिनल्याण्डका गोलकिपर लुकासले बचाएका थिए।

युरोकपमा फिनल्याण्डको यो ऐतिहासिक जित हो। पहिलो पटक युरोकप खेलिरहेको फिनल्याण्डको युरोमा यो पहिलो जित हो। जितसँगै समूह ’बी’ को फिनल्याण्डले पहिलो खेलमा ३ अंक जोडेको छ। डेनमार्कले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ।

तस्बीरः युइएफए

फिनल्याण्डले ऐतिहासिक जित निकाल्दा डेनमार्कले भने दुखद घटनाको सामना गर्नु परेको छ। डेनमार्कका विंगर क्रिस्टियन एरिक्सन अचेत भएर मैदान ढलेपछि डेनमार्क स्तब्ध भएको थियो। खेलको ४३ औं मिनेटमा एरिक्सन अचेत भएका थिए।

तर, मैदानमा चिकित्सकको आकस्मिक उपचारपछि एरिक्सनको होस खुलेको र उनी बोल्न सक्ने भएको डेनिस फुटबल एसोसियनले जनाएको छ। उनलाई थप उपचारको लागि अस्पताल लगिएको समेत एसोसियनले जनाएको छ। एरिक्सनको स्वास्थ्यमा सुधार आएपछि दुबै टिमसँगको छलफलपछि खेल पुनः सुरु गरिएको थियो।

वेल्स र स्वीटजरल्याण्डले बराबरी खेल्यो

युरो कप अन्तरगत समूह ‘ए’ को समूह चरणको खेलमा वेल्स र स्वीटजरल्याण्डबीचको खेल बराबरीमा सकिएको छ। खेलको ७४ औँ मिनेटमा केइफर मुरले बराबरी गोल गर्दै वेल्सका लागि १ अंक बटुल्न सफल भएका हुन्।

बाकुमा खेलिएको खेलमा स्वीटजरल्याण्डले नियन्त्रणमा राखेपनि पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। तर, दोस्रो हाफको शुरुवातमा नै ब्रिल एम्बोलोले गोल गर्दै स्वीस टोलीलाई अग्रता दिलाएका थिए। यद्यपि, मुरले बराबरी गोल फर्काउँदै वेल्सलाई खेलमा फर्काए।

तस्बीरः युइएफए

खेलको अन्त्यतिर सब्सिटीच्युट ग्राभानोविचले स्वीस टोलीका लागि गोल गरे पनि भिडियो एसिस्टेन्ट रेफ्रीले उक्त गोललाई मान्यता दिएनन्। वेल्सका गोलकिपरले स्वीस टोलीका थुप्रै प्रहार विफल बनाएका थिए।

समूह ‘ए’ मा इटाली ३ अंकसहित शीर्ष स्थानमा रहेको छ। इटालीले शुक्रबार राति टर्कीलाई ३–० गोलले पराजित गरेको थियो।

आज ३ खेल

युरोकपमा आज ३ खेलहरु हुँदैछ। आज हुने पहिलो खेलमा समूह ’डी’ मा रहेको इंग्ल्यान्ड र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ। लण्डनको वेम्बली स्टेडियममा हुने घरेलु टिम र क्रोएसियाबीचको खेल साँझ ६ः४५ बजे सुरु हुनेछ। यस्तै आज हुने दोस्रो खेलमा अष्ट्रिया र नर्थ म्यासेडोनियाबीच खेल हुनेछ। समूह ’सी’ मा रहेको अष्ट्रिया र नर्थ म्यासेडोनियाबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ।
आजको अन्तिम खेलमा नेदरल्यान्ड्स र युक्रेनबीच हुनेछ। दुई टिमबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।