बाढीका कारण घरहरू डुवानमा, प्रशासनलाई ध्यानाकर्षण


     एभरेस्ट आवाज    
     असार २ गते २०७८ मा प्रकाशित




पोखरा । सोमबारदेखिको लगातारको वर्षाका कारण नहरमा अव्यवस्थित रुपमा आएको बाढीले पोखरा महानगरपालिका वडा नं ३२ का विभिन्न स्थानमा घरहरू डुवानमा परेका छन् ।

वर्षाका कारण पोखरा महानगरपालिका वडा नं ३२ को टाँडीका साथै कालिकाचोकका झण्डै २० वटा घरमा पानी पसेको छ । पानी पसेका कारण कतिपयको घरमा धान लगायतका अन्न पनि भिजेका बाढी नियन्त्रण तथा व्यवस्थापन समिति पोखरा –३२ का अध्यक्ष शिवजी लामिछानेले जानकारी दिए ।

समितिको सक्रियतामा वर्षात्को पानीका साथै विजयपुर सिँचाइ आयोजना र गडुवा खोलाको पानी तथा बेगनास ताल जल उपभोक्ता संस्थाको बिसिटु सिँचाइ आयोजनाबाट अनियन्त्रित भई आउने पानीका कारण पर्ने गरेको असरलाई दीर्घकालीन रुपमा समाधान गर्न सम्बद्ध निकायमा यस अघि नै पत्राचारसहित ध्यानाकर्षण गराइए पनि त्यसको कार्यान्वयनमा चासो नदिदा समस्या भएको उनले बताए ।

नहरमा आउने पानीलाई व्यवस्थित नगरिदा यस क्षेत्रमा सिंचाइ जस्तो नभएर खहरे खोला जस्तो बन्दा वर्षेनी समस्या बढीरहेको स्थानीयको माग छ ।

यसैबीच नहरमा आउने अव्यवस्थित पानीका कारण वर्षेनी हुने गरेको समस्यालाई समाधान गर्न बाढी नियन्त्रण तथा व्यवस्थापन समितिका पदाधिकारी, जनप्रतिनिधि एवम् सञ्चारकर्मी सहितको टोलीले आज जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण गराएको छ ।


कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेललाई भेटेर टोलीले तत्कालिन एवम् दीर्घकालीन समाधानका सम्बन्धमा जानकारी गराइएको हो । भेटघाटमा बाढी नियन्त्रण तथा व्यवस्थापन समितिका अध्यक्ष शिवजी लामिछाने, समितिका सचिव प्रकाशचन्द्र पागल, पोखरा–३२ का वडा अध्यक्ष अक्कलबहादुर कार्की, गण्डकी प्रदेश सभा सदस्य एवम् अर्थ तथा विकास समितिका सभापति दीपक कोइराला, नेपाली काँग्रेस कास्कीका प्रवक्ता नवीन सिग्देल, रासस गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेल, नेपाल तरुण दलका केन्द्रीय सदस्य भरत थापा, युवा संघ नेपालका केन्द्रीय सदस्य गंगा खत्री, नेपाली काँग्रेसका वडा सचिव किसान परियार, नेपाली काँग्रेस– ३२ का युवा संयोजक शरण प्रधान, लगायतको उपस्थिति थियो ।


छलफलका क्रममा समस्याको दीर्घकालिन समाधान खोजिनुपर्नेमा जोड दिदै वक्ताहरूले तत्कालका लागि बाँधाको रह, डाँडाको नाक जस्ता स्थानबाट पानी कटाउनुपर्ने बताए ।

समस्याको तत्कालिन समाधानका लागि विपद् कोषबाट बजेट विनियोजन गरिनुपर्नेमा सरोकारवालाको माग छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।