बाइडेन–पुटिन भेटवार्ता: राजदूत पुनर्बहाली गर्ने सहमति


     एभरेस्ट आवाज    
     असार ४ गते २०७८ मा प्रकाशित




तस्बीरः गुगलबाट

रुस र अमेरिकाले एक–अर्का देशमा आफ्ना राजदूत पुनर्बहाली गर्ने भएका छन्।

अमेरिकी राष्ट्रपति जो बाइडेन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच स्विट्जरल्यान्डमा भएको सम्मेलनका क्रममा यस्तो सहमति जुटेको हो।

यसअघि, गत अप्रिलमा अमेरिकाले रुसबाट आफ्ना राजदूत फिर्ता बोलाएको थियो भने रुसले पनि जवाफी कदम स्वरुप वासिङ्टनबाट राजदूतलाई बोलाएको थियो।

त्यसैगरी, दुबै देशले परमाणु हतियार नियन्त्रण सन्धिलाई निरन्तरता दिन वार्ता सुरु गर्ने सहमति गरेका छन्। यसबाट विश्वमा परमाणु हतियारको खतरा कम हुने अपेक्षा गरिएको छ।

रुसी राष्ट्रपति पुटिनले वार्ता फलदायी रहेको बताएका छन्। बाइडेनसँग युक्रेनको मुद्दामा पनि वार्ता भएको उनले बताएका छन्। भेटमा बाइडेनले रुसका विपक्षी नेता एलेक्सेई नाभेल्नीलाई जेल हाल्नुको कारण सोधका थिए।

जवाफमा नाभेल्नीले दुईपटक कानून उल्लंघन गरेको पुटिनले बताएका थिए। त्यस्तै, पुटिनले पनि अमेरिकामा भएको अश्वेतको हत्या र संसद् भवनमा भएको हमलाको घटनाको विषय उठाएको श्रोतले जनाएको छ। उनले यी घटनाप्रति सहानूभूति व्यक्त गर्दै आफ्नो देशमा यस्तो नहोस् भन्ने चाहेको बताए। अमेरिकी राष्ट्रपति बाइडेनले पनि भेटवार्ता फलदायी नै रहेको बताएका छन्। दुई राष्ट्रपति बीचको छलफल झन्डै ३ घण्टासम्म चलेको थियो।

श्रोतः एजेन्सीहरु


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।