गण्डकी प्रदेशमा आज मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने

- देशका अधिकांश भूभागमा भारी वर्षाको सम्भावना रहेकाले पहाडी क्षेत्र र तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध


     एभरेस्ट आवाज    
     असार ५ गते २०७८ मा प्रकाशित



सांकेतिक तस्बीर

गण्डकी प्रदेश लगायत देशका अधिकांश भूभागमा आज (शनिबार) मेघगर्जन र चट्याङ सहित भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले आज देशका अधिकांश भूभागमा भारी वर्षाको सम्भावना रहेकाले पहाडी क्षेत्र र तटीय क्षेत्रमा बासिन्दालाई सतर्कता अपनाउन अनुरोध समेत गरेको छ।

महाशाखाले आज गण्डकी प्रदेश सहित प्रदेश नं १, बागमती र लुम्बिनी प्रदेशको केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने संभावना रहेकोले उक्त प्रदेशहरुको पहाडी भूभागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको हो।

महाशाखाका अनुसार आज देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल देशको पश्चिमी भूभाग नजिक मनसुनी न्यून चापीय रेखा रहेको छ।

हाल देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागका केही स्थानहरुमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ। प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा मेघगर्जन र चट्टयाङसहित भारी वर्षाको संभावना छ।

यसैगरी, आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ। प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्टयाङसहित भारी वर्षाको संभावना छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।