इरानमा राष्ट्रपतीय निर्वाचनको मतपत्र बोकेको हेलिकोप्टर दुर्घटना


     एभरेस्ट आवाज    
     असार ६ गते २०७८ मा प्रकाशित




तस्वीर : आईआरएनए

इरानको राष्ट्रपतिका लागि शुक्रबार भएको मतदानको मतपत्रको बाकस बोकेको होलिकोप्टर दुर्घटनाग्रस्त भएको बताइएको छ।

इरानको दक्षिण पश्चिमी प्रान्त खुजेस्तानमा शनिबार मतपत्र बोकेको सो होलिकोप्टर दुर्घटनाग्रस्त भएको बताइएको हो। हेलिकोप्टरमा रहेका एक जनाको ज्यान गएको छ।

सो हेलिकोप्टर कसरी दुर्घटना भयो र त्यसमा केकति मत्रपत्र र को को थिए भन्ने बारेमा भने केही खुलाइएको छैन। यहाँ शुक्रबार मतदान भएको थियो। मतदानका लागि बिहान ७ बजेदेखि मतदान केन्द्रहरु खुलेका थिए।

इरानको यस निर्वाचनमा यहाँका सर्वोच्च नेता आयतुल्लाह खामेनीको अध्यक्षतामा रहेको उम्मेदवार छनौट समितिले सुधारवादी र पूर्व राष्ट्रपति हसन रौहानीसँग निकट रहेका कैयौं व्यक्तिलाई उम्मेदवार हुनबाट बन्चित गरेको थियो।

सर्वोच्च नेता खामेनीले राजधानी तेहरानमा मतदान गरेका थिए र उनले आमनागरिकलाई मतदानमा सहभागी हुन पनि आग्रह गरेको बताइएको छ। करिब आठ करोड जनसंख्या रहेको इरानमा यस पटक ५ करोड ९० लाख मतदाता रहेको बताइएको छ। विभिन्न संचारमाध्मयहरुले यो सन् १९७९ को इस्लामिक क्रान्तिपछिको सबैभन्दा न्यून संख्याको मतदान भएको बताएका छन्।

सिन्ह्वा


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।