कास्कीमा फेरी थपियो एक साता निषेधाज्ञा, प्रावधान खुकुलो


     एभरेस्ट आवाज    
     असार ६ गते २०७८ मा प्रकाशित




पोखरा । कास्कीमा जारी निषेधाज्ञालाई केही खुकुलो बनाउँदै थप एक साता लम्बाइएको छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीमा आज बसेको जिल्ला कोभिड–१९ व्यवस्थापन समिति (डीसीएमसी) को बैठकले जिल्लामा कोरोना संक्रमणदर घट्दै गएपनि अपेक्षाकृत रुपमा कमी नआएको निष्कर्ष निकाल्दै यसलाई आगामी असार १५ गतेसम्म लम्बाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए ।

प्रशासनले निजी सवारीसाधन जोरबिजोर प्रणालीका आधारमा संचालन गर्न र विभिन्न पेसा, व्यवसाय, पसल बिहान ५ देखि १२ सम्म खोल्न पाइने गरी निषेधालाई जारी राखेको हो ।

प्रशासनले आज एक आदेश जारी गर्दै सो अवधीमा सिनेमा हल, पार्टी प्यालेस, होटल, रेष्टुरेन्ट, चिया पसल, खाजा पसल, मोटेल, नाचघर, क्लब, डान्सबार, दोहोरी साँझ, फनपार्क, रंगशाला, फुटसल, खेलकुदस्थल, जिमखाना, फिटनेस सेन्टर, स्पा, स्वीमिङ पुल, ब्युटी पार्लर, सैलनु, फुटपाथ पसल लगायतका सेवा सञ्चालन नगर्न भनिएको छ । यस बाहेकका पेशा व्यवसाय, पलसलहरु भने स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्दै बिहान ५ देखि दिउँसो १२ सम्म मात्र संचालन गर्न सकिने जनाइएको छ ।

यस्तै खाद्यान्न, तरकारी, पानी, फलफूल, दुध जस्ता दैनिक उपभोग्य वस्तु नजिकको पसलबाट मात्र खरिद गर्न र त्यसका लागि सवारी साधन प्रयोग नगर्न आग्रह गरेको छ । साथै फलफूल तथा तरकारीको थोक बिक्रेताले खुद्रा बिक्री वितरण गर्न पाउने छैनन् । ताजा दुध बेलुका ५ देखि ७ बजेसम्म नजिकको चिस्यान केन्द्र एवं संकलन केन्द्रमा पुर्याउन रं बिक्री वितरण गर्न पाइने ब्यवस्था गरिएको छ ।

त्यस्तै सरकारी मान्यता प्राप्त आयोजना र निजी निर्माण कार्य स्वास्थ्य मापदण्डको पालना गरि अनावश्यक भिडभाड नहुनेगरि प्रवन्ध मिलाई सञ्चालन गर्न सकिने जनाएको छ । त्यसका लागि निर्माण कार्यमा संलग्न कर्मचारी तथा श्रमिकलाई उद्योग परिसर वा निर्माण स्थल नजिकै खान र बासको व्यवस्था गर्न आदेशमा उल्लेख गरिएको छ ।

निर्माण सामाग्री ढुवानी गर्ने सवारी साधनहरुले बेलुका ७ बजेदेखि विहान ५ बजेसम्म ढुवानी गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

साथै प्रशासनले सो अवधीमा औषधी एवम् स्वास्थ्य सामाग्रीका पसहलहरु भने २४ सैं घण्टा खोल्न सक्ने जनाएको छ ।

त्यसैगरी सर्वसाधारणले औषधि, खाद्यवस्तु, तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदका लागि अत्यावश्यक सेवा लिनुपर्दा बाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्किन पाउने छैनन् । अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा (बढीमा २ जना) बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले प्रयोग गर्ने सवारी साधन मात्र सञ्चालन गर्न पाइने छ । जिल्लाभित्र सञ्चलान हुने सबैप्रकारका सार्वजनिक यातायातका साधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ ।

विवाह, ब्रतबन्ध तथा अन्य संस्कारजन्य कार्यक्रमहरु होटल र पार्टी प्यालेसमा गर्न रोक लगाइएको छ । घरमा विवाह व्रतबन्ध लगायतका कार्य गर्दा दश जनाभन्दा बढी उपस्थित हुन नपाइने र केटा वा केटी पक्षले बढीमा १० जना मात्र हुने गरी २ वटा सवारी साधन मात्रै प्रयोग गर्न पाइने आदेशमा भनिएको छ ।

यस्तै बैंक तथा वित्तीय संस्थालाई सिमित कर्मचारीको उपस्थितिमा कार्यालय सञ्चालन गर्न दिने भनिएको छ । प्रदान गरिने सेवाहरु सकेसम्म अनलाइन प्रविधिको अवलम्बन गरी वर्क फ्रम होम पद्धतीबाट सञ्चालन गर्न पनि आदेशमा आग्रह गरिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।