सरकारलाई सर्वोच्चको आदेश : १३ लाख जेष्ठ नागरिकलाई कोभिसिल्डको दोस्रो डोज तत्काल देऊ


     एभरेस्ट आवाज    
     असार ८ गते २०७८ मा प्रकाशित




काठमाडौं । सर्वोच्च अदालतले ६५ वर्षभन्दा माथिल्लो उमेर समूहका नागरिकलाई तत्काल कोभिड–१९ विरुद्धको कोभिसिल्डको दोस्रो डोज खोप लगाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले मंगलबार उक्त आदेश दिएको हो । अघिल्लो वर्ष कोभिसिल्डको पहिलो डोज लगाएका ज्येष्ठ नागरिकलाई दोस्रो डोज दिन ढिलाइ भएको भन्दै अदालतले यथाशिघ्र खोपको व्यवस्था गर्न सरकारलाई भनेको छ ।

विज्ञहरुले पहिलो डोज लगाएको ८ देखि १२ सातासम्म खोप लगाउन सकिने बताएका छन् । नेपालमा ६५ वर्ष माथिका १३ लाख भन्दा बढीले पहिलो डोज खोप लगाइसकेका छन् । दोस्रो डोज खोप लगाउन माग गर्दै अर्जुनराज गिरी समेतले सर्वोच्चमा रिट दायर गरेका थिए ।

भारतीय कम्पनी सिरम इन्स्टिच्युटले अग्रिम भुक्तानी लिएर पनि अस्ट्राजेनेका खोप नेपाललाई उपलब्ध गराएको छैन । उसले अझैं १० लाख अस्ट्राजेनेका खोप उपलब्ध गराउन बाँकी छ । कोभ्याक्समार्फत आउनुपर्ने खोप पनि समयमै आउन नसकेपछि सरकारले खोप अभियान सुरु गर्न सकेको छैन ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।