तनहुँको घिरिङमा सबै नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा


     एभरेस्ट आवाज    
     असार ९ गते २०७८ मा प्रकाशित




दमौली। तनहुँको घिरिङ गाउँपालिकाले हरेक नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने घोषणा गरेको छ । गाउँपालिकाले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष ०७८-७९ को नीति तथा कार्यक्रममा गाउँपालिकाका सम्पूर्ण नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने उल्लेख छ ।

नेपालको संविधानले हरेक नेपालीलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्रदान गर्ने कुरालाई आत्मसात् गरेकाले गाउँपालिकाले त्यसलाई कार्यान्वयन गर्न लागेको अध्यक्ष रनबहादुर रानाले जानकारी दिए । उनका अनुसार स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले दिएको अधिकारको प्रयोग गरी स्थानीय स्वास्थ्य सेवा ऐन, स्थानीय स्वास्थ्य सेवा नियमावली र स्थानीय स्वास्थ्य नीतिसमेत निर्माण गरी सोही बमोजिमको कार्य अगाडि बढाइनेछ ।

गाउँपालिकाले आगामी वर्षको नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको छ । गत वर्षदेखि विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ बाट गाउँपालिका पनि अछुतो छैन । कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रण गर्न हाल सञ्चालनमा रहिरहेको दश शैय्याको कोभिड अस्थायी अस्पताललाई स्तरोन्नति गरी २० शैय्याका रुपमा विकास गरिने रानाले बताए ।

हरेक स्थानीय तहमा आधारभूत अस्पताल स्थापना गर्ने सङ्घीय सरकारको नीतिअनुरुप घिरिङमा दश शैय्याको अस्पताल आगामी आर्थिक वर्षबाट नै स्थापना गरी सञ्चालन गर्ने नीति लिइएको छ । साथै दश शैय्याको आधारभूत अस्पताल स्थापना गर्नका लागि आवश्यक जग्गा व्यवस्थापन र डिपिआर समेतका लागि बजेट विनियोजन गरिने रानाले जानकारी दिए ।(रासस)


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।