युरोकप फुटबलः फ्रान्स समूह विजेता बन्दै नकआउट चरणमा


     एभरेस्ट आवाज    
     असार १० गते २०७८ मा प्रकाशित




तस्बीरः एजेन्सी

फ्रान्स समूह विजेता जारी १६ औं संस्करणको युरोकप फुटबलको नकआउट चरणमा स्थान बनाएको छ।

बुधबार राति भएको समूह चरणको अन्तिम खेलमा पोर्चुगलसँग २–२ गोलको बराबरी खेल्दै फ्रान्स समूह विजेता बनेको हो।

हंगेरीको हंगेरीको बुडापेस्टस्थित पुस्कास एरिनामा फ्रान्सका लागि करिम बेन्जिमाले २ गोल गरे। पोर्चुगलका लागि क्रिस्टियानो रोनाल्डोले २ गोल गरे।

रोमान्चक बनेको खेलको ३१ औं मिनेटमा कप्तान रोनाल्डोले पेनाल्टीमा गोल गर्दै पोर्चुगललाई सुरुवाती अग्रता दिलाएका थिए।

फ्रान्सका गोलकिपर ह्युगो लोरिसले पेनाल्टी क्षेत्रमा डानिल पेरीएरालाई फउल गरेपछि पोर्चुगलले पेनाल्टीको अवसर पाएको हो। जसमा रोनाल्डोले सहजै गोल गर्न सफल बने।

पहिलो हाफको इन्जुरी समयमा बेन्जिमाले पेनाल्टीमा गोल गर्दै फ्रान्सलाई १–१ गोलको बराबरीमा ल्याए। पोर्चुगलका नेल्सन सेमिडोले केलियन एमबाप्पेलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि फ्रान्सले पेनाल्टीको अवसर पाएको थियो।

दोस्रो हाफको सुरुवातमै फ्रान्सले अग्रता बनायो । पाउल पोग्बाको पासमा बेन्जिमाले ४८ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै फ्रान्सलाई २–१ को अग्रता दिलाए।

त्यस्तै, ६० औं मिनेटमा रोनाल्डोले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै पोर्चुगललाई २–२ गोलको बराबरीमा ल्याए। फ्रान्सका जुलेसले ह्यान्डबल गरेपछि पाएको पेनाल्टीमा रोनाल्डोले सहजै गोल गरेका हुन्।

यस बराबरीसँगै समूह ’एफ’ मा रहेको फ्रान्सले ३ खेलमा ५ अंक जोड्यो । र, शीर्ष स्थानमा रहँदै अन्तिम १६ मा स्थान पक्का गरेको हो।

यसअघि समूह चरणको पहिलो खेलमा फ्रान्सले जर्मनीलाई १–० गोल अन्तरले हराएको थियो। तर, दोस्रो खेलमा फ्रान्स हंगेरीसँग १–१ गोलको बराबरीमा रोकिएको थियो। अब फ्रान्सले अन्तिम १६ मा स्विट्जरल्यान्डसँग खेल्नेछ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।