पोखरा ।कास्कीको माछापुच्छ्रे गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि रु ५६ करोड ५८ लाख ९८ हजार ४७१ को बजेट गाउँसभामा प्रस्तुत गरी पारित गरेको छ ।
गाउँपालिका उपाध्यक्ष एवं बजेट नीति तथा कार्यक्रम समितिका संयोजक कृष्णकुमारी दवाडीले आज सभामा प्रस्तुत गर्नुभएको बजेट कार्यक्रममा ‘पर्यटन, कृषि, उर्जा र पूर्वाधार ः समृद्ध माछापुच्छ्रे ’को मूल आधारको नारालाई साकार पार्दै मानव जीवन रक्षालाई प्राथमिकतामा राखिएको छ ।
बजेटमा चालू खर्चतर्फ रु ३५ करोड तीन लाख ५० हजार विनियोजन गरिएको छ ।
यसैगरी पूँजीगततर्फ रु २१ करोड ५५ लाख ४८ हजार ४७१ विनियोजन गरिएको छ ।पूँजीगततर्फ पूर्वाधार विकासमा रु १४ करोड २२ लाख २० हजार,सामाजिक विकास तर्फ रु पाँच करोड १७ लाख ४३६, आर्थिक विकासमा रु एक करोड ३८ लाख ७८ हजार ५४७, वन, वातावरण तथा विपद् व्यवस्थापन तर्फ ४८ लाख ९९ हजार ४८८ र सुशासन, संस्थागत क्षमता विकास तथा सेवा प्रवाहतर्फ रु २८ लाख ५० हजार छुट्टाइएको छ ।
नयाँ परिस्थितिले सिर्जना गरेको चूनौतीलाई सामना गर्ने र प्राप्त अवसरलाई उपयोग गर्ने तर्फ केन्द्रित रही प्राकृतिक, साँस्कृतिक र विभिन्न भौगोलिक विविधतायुक्त गाउँपालिकालाई समृद्ध बनाउनेतर्फ बजेट कार्यक्रम लक्षित रहेको उपाध्यक्ष दवाडीले बताइन् ।
कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचारलाई प्रभावकारी बनाउन आवश्यक साधन स्रोतको सुनिश्तिता र क्वारेन्टिन निर्माण, सञ्चालन, औषधी उपकरण तथा कोष स्थापनाका लागि प्रकोप व्यवस्थापन कोषमा आवश्यक बजेट विनियोजन गरिएको बजेटमा उल्लेख छ ।
गाउँपालिका केन्द्र जोड्ने सडकलाई प्राथमिकतामा राखी विभिन्न सडकहरुको स्तरोन्नति तथा मर्मत सुधार, मानव संसाधन विकासका लागि शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ र पोषणमा बजेटले जोड दिएको छ ।
यसैगरी कृषि सेवा ,पशु सेवा,पर्यटन,वन तथा वातावरण क्षेत्रको विकास, विस्तार र संरक्षण र कोरोना महामारीका कारणले स्वदेश तथा विदेशमा रोजगारी गुमाएका तथा बेरोजगार नागरिकको रोजगारीका अवसर बृद्धि गर्न उद्यम विकास कार्यक्रम सञ्चालन बजेटको प्राथमिकतामा बजेट कार्यक्रममा छ ।
बजेट अघि गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भौतिक, आर्थिक,सामाजिक र संस्थागत विकासमार्फत समृद्ध माछापुच्छ्रेको आधार निर्माणमा कार्यक्रम केन्द्रीत रहेको बताएका थिए ।
प्रश्तावित नीति तथा कार्यक्रमको सफल कार्यान्वयनबाट गाउँपालिकाले लिएको लक्ष्य हासिल गर्दै जनताको जीवनस्तरमा सुधार ल्याउनु प्रमुख उद्धेश्य रहेको अध्यक्ष गुरुङले बताए । नीति कार्यक्रमको छलफलमा सभा सदस्य गणेश आचार्यले सहभागिता जनाएका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







