बागलुङ । ब्रेन ट्युमर भइ उपचारका क्रममा ज्यान गुमाएकी नौ वर्षीया बालिका रिहाना पुनको उपचारका लागि संकलन भएको रकम ५ लाख ६९ हजार ३ सय ७० रुपैयाँ बुधबार बालिका रिहानाका बाबु आमालाई हस्तान्तरण गरिएको छ ।
बागलुङको गलकोट नगरपालिका वडा नं. ११, रिघा, मनेवानिवासी अमरबहादुर पुन र छमकली पुनको छोरी नौ वर्षीया बालिका रिहानाको उपचारका लागि गोर्खा स्मारक ट्रष्ट, नेपालले बेलायतमा २ लाख ६९ हजार ३ सय ७० रुपैयाँ संकलन गरेको थियो ।
त्यस्तै, देश तथा विदेशका शुभेच्छुकहरूबाट संकलित रकममध्ये खर्च कटाएर बचेको ३ लाख रुपैयाँ गरी ५ लाख ६९ हजार ३ सय ७० रुपैयाँ रकम मृतक बालिकाका बुबा आमालाई हस्तान्तरण गरिएको हो ।
गोर्खा स्मारक ट्रष्ट, नेपालका कार्यवाहक अध्यक्ष आनबहादुर गुरुङ, सह–सचिव जंगबहादुर गुरुङ र गोर्खा स्मारक ट्रष्ट, बेलायतका कोषाध्यक्ष तिलबहादुर गुरुङले ट्रष्टको पहलमा संकलित रकम हस्तान्तरण गरिएको हो । अन्य देश तथा विदेशका नेपालीहरूबाट संकलित रकम ३ लाख रुपैयाँ अभियन्ता कृष्ण काउचाले हस्तान्तरण गरेका थिए ।
ब्रेन ट्युमर भएपछि पोखराको फेवासिटी अस्पतालमा उपचार गराइरहेकी बालिका रिहानाको थप उपचारका लागि लेकसिटी अस्पतालमा सारिएको थियो ।
आर्थिक रुपमा कमजोर पारिवारिक पृष्ठभूमि भएका बालिका रिहानाको उपचारका लागि देश तथा विदेशबाट सहयोग संकलन सुरु गरिएपनि उनलाई बचाउन नसकिएको अभियान संयोजक निर्मला घर्ती पुनले जानकारी दिए ।
अभियन्ता कृष्ण काउचा, निर्मला घर्ती पुन र सृष्टि पुनलगायतको पहलमा सुरु गरिएको अभियानमा रिहानाको उपचारका लागि विभिन्न संघसंस्था र व्यक्तिहरूले सहयोग गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







