गलकोट। बागलुङ जिल्लाको गलकोट नगरपालिकाका एक वृद्ध घाँस काट्न जाने क्रममा बेपत्ता भएका छन्। गलकोट–६ कायसका ७० वर्षीय क्षेत्रबहादुर बुढाथोकी यही असार १० गतेदेखि सम्पर्कविहीन भएका थिए ।
बुढाथोकी घरदेखि केही माथि रहेको खरबारीमा घाँस काट्न गएको र सोही स्थानबाट हराएको परिवारले जनाएको छ । हँसिया, खुर्पेटो, पानी कागज साथमा घाँस बाँध्ने डोरी र बोक्ने नाम्लो लिएर घरबाट गएका उनलाई त्यसयता निरन्तर खोजी कार्य जारी राखिए पनि फेला पार्न नसकिएको स्थानीयवासी बेलुकाजी थापाले जानकारी दिए ।
जिल्ला सुरक्षा संयन्त्रको समन्वयमा पोखराबाट कुकुरसहितको प्रहरीको विशेष प्राविधिक टोली झिकाएर शनिबारदेखि खोजी कार्यलाई थप तीव्र पारिएको छ । पोखराबाट प्रहरी नायब निरीक्षकको नेतृत्वमा ‘रेस्क्यू र क्याकर डग’ सहितको प्राविधिक टोलीले खोजी कार्य थालेको छ । बुढाथोकीले लगाएका कपडा सुँघाएर र उनी गएको स्थानलाई पछ्याएर कुकुर परिचालन गरेर खोजी कार्य जारी राखिएको प्रहरी नायब निरीक्षक विक्रमबहादुर थापाले बताए ।
थापाका अनुसार दुई कुकुरले फरक फरक जिम्मेवारीअनुसार काम गर्नेछन् । जिल्ला प्रशासन र प्रहरी कार्यालयबाट समेत प्रमुख जिल्ला अधिकारी तथा प्रहरी उपरीक्षकसहितको टोली पनि घटनास्थलमा पुगेको छ । पहिलो कुरा अवस्था पत्ता लगाउनु नै रहेको र त्यसपछि मात्रै थप कारणबारे अनुसन्धान अघि बढाइने थापाको भनाइ छ । (रासस)
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







