सोमालियाका करिब ६० लाख मानिसमा खाद्य संकट, सहयोगका लागि राष्ट्रसंघको आग्रह


     एभरेस्ट आवाज    
     असार १७ गते २०७८ मा प्रकाशित




तस्बीरः गुगलबाट

सोमालियामा उत्पन्न भएको खाद्य संकटको समस्या तत्कालै टार्नका लागि संयुक्त राष्ट्रसंघले सहयोगको अपिल गरेको छ।

त्यहाँ केही समय यतादेखिको खडेरी तथा आन्तरिक द्धन्द्धका कारण खाद्य संकट परेको जनाइएको छ।

त्यहाँ समयमा पानी नपरेका कारण देशव्यापी रुपमा सुख्खापन भएको समाचार पहिलेदेखि नै आएको थियो।

जसका कारण यहाँका ५९ लाखभन्दा बढी मानिस प्रभावित भएका बताइएको छ। सो कुरा सोमालियामा रहेको मानवीय सहायतासम्बन्धी निकायले जानकारी दिएको छ। मानवीयता सम्बन्धी सहयोगका लागि संयुक्त राष्ट्रसंघीय कार्यालय (ओसीएचए) का अनुसार सोमालियामा हालैका दिनमा देखिएको चरम खाद्य संकटले गर्दा लाखौँ लाख मानिस विस्थापित पनि भएका छन्।

यो वर्ष नै अप्रिलदेखि सेप्टेम्बर सम्ममा ती नागरिकलाई खाद्य संकट पर्ने जनाइएको थियो। त्यहाँका अधिकारीहरुले पहिलो कुरा त आवश्यक मात्रामा पानी नपरेका कारण उब्जनी नभएको बताएका छन् भने अर्कातर्फ यहाँ आन्तरिक द्धन्द्धका कारण पनि मानिसहरुले खान पाएका छैनन्।

मानवीयता सम्बन्धी सहयोगका लागि संयुक्त राष्ट्रसंघीय कार्यालय (ओसीएचए) का सोमालियाका संयोजक आदम अब्देलमौलाका अनुसार त्यहाँका कम्तीमा पनि ५० लाख नागरिकलाई तत्कालै खाद्य सहयोग उपलब्ध गराउनुपर्ने अवस्था रहेको जनाएका छन्।

सोमालियाको सरकारले गत अप्रिलमा संयुक्त राष्ट्रसंघीय अधिकारीहरुसँग परामर्श गरी त्यहाँ खडेरीका कारण खाद्य संकट पर्न गएको घोषणा गरेको थियो। सोही कारण संयुक्त राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी उक्त निकायले सहयोगका लागि विदेशी दातृसंस्था या देशहरुलाई आग्रह पनि गरेको बताइएको छ।

रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।