बागलुङको वनमा गरियो फलफूल खेती


     एभरेस्ट आवाज    
     असार १८ गते २०७८ मा प्रकाशित




फाइल तस्बिर

बागलुङ। मानव–वन्यजन्तु द्वन्द्व घटाउने र वनको बहुप्रयोग बढाउने उद्देश्यले यहाँका दुई सामुदायिक वनमा फलफूल रोपण गरिएको छ । डिभिजन वन कार्यालयको आर्थिक सहयोगमा गलकोट नगरपालिका–७ मल्मस्थित लाम्दारा र काठेखोला गाउँपालिका–७ रेशको साँघुखोला रातोपहरा सामुदायिक वनमा फलफूल खेती शुरु गरिएको हो ।

फलफूल खेतीबाट वनको उत्पादकत्व र सौन्दर्य पनि बढ्ने विश्वास लिइएको छ । कार्यालयका वन अधिकृत प्रकाश थापाका अनुसार यो वर्ष जिल्लाका दुई स्थानमा मात्र वनजन्य फलफूल रोपणको नमूना कार्यक्रम सञ्चालन गरिएको हो । “यो कार्यक्रमको मुख्य उद्देश्य भनेको नै मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन गर्नु हो”, उनले भने“फलफूल लगाउँदा बाँदरलगायत साकाहारी जन्तु, चराचुरुङ्गीले वनमै आहारा पाउँछन्, जसले गर्दा उनीहरु मानव बस्तीतिर आउनबाट रोकिन्छन् ।

” ग्रामीण भेगका बस्तीमा नजिकका वनबाट बाँदर छिरेर बर्सेनि खेतीबालीमा नोक्सान पुर्‍याउँदै आएका छन् । हैसियत बिग्रिएका वनको अवस्था सुधार्न पनि फलफूल खेतीले सघाउने अधिकृत थापाको भनाइ छ । फलफूल रोपणका लागि कार्यालयले दुवै सामुदायिक वनलाई रु पाँच लाखका दरले बजेट दिएको थियो । जसमा सामुदायिक वनले थप रु सवा लाख बराबरको जनश्रमदान जुटाएका छन् । लाम्दारा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष घनश्याम थापाले १२ हेक्टर क्षेत्रफलमा विभिन्न प्रजातिका फलफूल लगाइएको बताए ।

लप्सी, अमला, हर्रो, बर्रो, अम्बा, केरा, एभोकाडो, टिमुरलगायत गरी पाँच हजार फलफूलका बिरुवा रोपिएको उनको भनाइ छ । सबैभन्दा बढी लप्सीका एक हजार ४०० बिरुवा रोपिएको छ । समितिका सदस्य र उपभोक्ता मिलेर फलफूल रोपेका थिए । रेशको साँघुखोला रातोपहरा सामुदायिक वनको पनि झण्डै १२ हेक्टरमा फलफूल खेती गरिएको कार्यालयले जनाएको छ । उक्त वन क्षेत्रमा बढीजसो ओखराका बिरुवा लगाइएको छ ।

हावापानीका कारण लाम्दारा र रातोपहरा वनमा फरक–फरक प्रजातिका फलफूल रोपण गरिएको अधिकृत थापाले बताए । गलकोट–७ मा ‘फ्रुट फरेष्टी मोडल स्थापना’ र काठेखोला–७ मा ‘हैसियत बिग्रेको वनमा फलफूल रोपण’ शीर्षकमा बजेट÷कार्यक्रम आएको हो । दुवैको मुख्य उद्देश्य भने मानव–वन्यजन्तु द्वन्द्व कम गर्नु नै रहेको जनाइएको छ ।

सामुदायिक वनमा गरिएको फलफूल खेतीले उपभोक्तालाई आयआर्जनमा पनि जोड्ने सामुदायिक वन उपभोक्ता महासङ्घ, बागलुङका अध्यक्ष राज थापाले बताए । “यसले पर्यावरण प्रवद्र्धनमा पनि टेवा पुग्छ, वनमा आधारित आयमूलक गतिविधिलाई पनि अघि बढाउन सकिन्छ”, उनले भने । कार्यालयले वनको बहुउपयोग बढाउन सामुदायिक वन उपभोक्ता समितिसँग मिलेर विभिन्न खाले प्रवद्र्धनात्मक काम गर्दै आएको छ ।

यही वर्ष बागलुङ नगरपालिका–११ रायडाँडा र निसीखोला गाउँपालिकामा गरी आठ हेक्टर क्षेत्रफलमा टिमुरखेती गरिएको छ । जसका लागि डिभिजन वन कार्यालयले रु १०/१० लाख बजेट उपलब्ध गराएको थियो । कार्यालयको सहयोगमा काठेखोलाको बिहुँमा जडीबुटी प्रशोधन केन्द्रसमेत यही वर्षदेखि सञ्चालनमा ल्याइएको छ । (रासस)


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।