फिलिपिन्स सैनिक विमान दुर्घटना: मृत्यु हुनेको संख्या ४५ पुग्यो


     एभरेस्ट आवाज    
     असार २१ गते २०७८ मा प्रकाशित




फाइल तस्बीर

फिलिपिन्समा आइतबार सैनिक विमान दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ४५ पुगेको छ।

देशको दक्षिणी क्षेत्र सुलु प्रान्तको जोलो टापुस्थित विमान दुर्घटना भएको हो।

दुर्घटनामा केही दर्जन यात्रु घाइते छन् । हालै तालिम प्राप्त सैनिक फौजसहित झण्डै सय जना यात्रु बोकेको सी–१३० हर्कुलस ट्रान्सपोर्ट विमान विमानस्थलमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको हो। दुर्घटनामा मृत्यु हुने अधिकांश नयाँ तालिम प्राप्त सिपाही छन्।

मेजर जनरल विलियम गोन्जालेजका अनुसार यात्रुमध्ये केही सिपाहीहरु विमान दुर्घटना हुँदै गर्दा पड्किनुअघि जमिनमा हामफाल्दै गरेका देखिएका थिए। यस घटनालाई देशकै सबैभन्दा घातक सैन्य उड्डयनमध्ये एक ठानिएको छ। दुर्घटनामा १७ जना यात्रु अझै वेपत्ता भएकाले उनीहरुको खोजी कार्य भइरहेको बताइएको छ। दुर्घटनाग्रस्त विमानका केही भाग रुखहरुबीच जलिरहेको अवस्थामा देखिन्छ।

विमान दुर्घटना भएपछि त्यहाँबाट धुवाँको मुस्लो उडिरहेको दृश्य स्थानीय मिडियाले सार्वजनिक गरेका छन्। ४ इन्जिन भएको उक्त विमान पातलो मानव बस्ती भएको क्षेत्र नजिकै खसेको थियो।

फिलिपिन्सको वायु सेनाका प्रवक्ता लेफ्टिनेन्ट कर्नेल म्यानर्ड मारिआनोले विमान दुर्घटनाको कारणबारे अनुसन्धान गरिने बताएका छन्। जवकि, सशस्त्र बलका प्रवक्ता मेजर जनरल एडगार्ड एरेभालोले भने यो एक आक्रमण नभएर दुर्घटना नै भएको प्रतिक्रिया दिएका छन्। अधिकांश यात्रुहरु भर्खरै तालिम सम्पन्न गरेका सैनिक थिए। र, उनीहरु मुस्लिम वाहुल्य क्षेत्रमा आतंकवादीविरुद्ध दस्ताको रुपमा खटाइएका थिए।

बीबीसी


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।