‘प्रधानमन्त्री नियुक्तिका लागि देउवाले राष्ट्रपतिसमक्ष बुझाउनुभएकाे हस्ताक्षर किर्ते होइन’


     एभरेस्ट आवाज    
     असार २१ गते २०७८ मा प्रकाशित






काठमाण्डाै । वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानमन्त्री नियुक्तिका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपतिसमक्ष पेस गर्नुभएको हस्ताक्षर किर्ते नभएको दाबी गरेका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा सुनुवाइका क्रममा उनले यस्ताे दाबी गरेका हुन् ।

प्रधानमन्त्री नियुक्तिका लागि देउवाले राष्ट्रपतिसमक्ष पेस गर्नुभएको हस्ताक्षर किर्ते होइन, वरिष्ठ अधिवक्ता थापाले भने, को कहाँ छ, त्यहीँ सही गराउने हो, किर्ते छ भने कारबाही लगाउनुस्, त्यो महान्यायाधिवक्ताको क्षेत्राधिकार होइन, कागज नमागी पनि गर्न सक्छन्, एउटा पानामा सकिएपछि अर्कोमा सही गर्ने हो नि ।

देउवाको मात्र नभएर रिट हाल्ने एक सय ४६ जना सांसदको हक अपहरण गरिएको तर्क गर्दै उनले भने, संसद्को अधिकार के हो त ? यो शेरबहादुर देउवाको मात्र होइन एक सय ४६ सांसदको हक अपहरण गरिएको हो । वरिष्ठ अधिवक्ता थापाले विश्वासको मत पाउने किन नपाउने भन्ने विषय राष्ट्रपतिले हेर्ने हो र भनी प्रश्नसमेत उठाएका छन् ।

श्रीमानबाट बारम्बार आएको प्रश्न प्रधानमन्त्रीले विश्वासको मत पाउँदिन भनेर कागज पेस गरेपछि पदमुक्त हुनुपर्छ भनेर हामीले भनिरहेको हो, उनले भने, उहाँहरू पदमुक्त हुँदैन भन्नुहुन्छ, विश्वासको मत लिन सक्दिन भनेर गएको प्रधानमन्त्रीले फेरि दाबी गर्दा राष्ट्रपतिले बडो विचार गरेर निर्णय गर्नुपर्थ्याे ।

अहिले जवाफी बहस सकिएको छ । रिट निवेदकका तर्फबाट जवाफी बहसका लागि तीन घण्टाको समय निर्धारण गरिएको थियो । चियापछि अदालतका सहयोगीको (एमीकस क्युरी) बहस सुरु हुनेछ । उनीहरूका लागि दुई घण्टाको समय दिइएको छ ।

एमिकस क्युरीमा नेपाल बार एसोसिएशनबाट वरिष्ठ अधिवक्ताद्वय राघवलाल वैद्य र उषा मल्ल पाठक रहेका छन् भने सर्वोच्च बार एसोसिएशनबाट वरिष्ठ अधिवक्ताद्वय कोमलप्रकाश घिमिरे र प्रकाशबहादुर केसी रहेका छन् । एमिकस क्युरीले कानुनअनुसार अदालतलाई आफ्नो राय दिनेछन् । (रासस)


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।