पोखराले फुटबलको पूर्व राष्ट्रिय खेलाडी तामाङलाई सम्झियो


     एभरेस्ट आवाज    
     असार २२ गते २०७८ मा प्रकाशित




तस्बीरः सहारा क्लब पोखरा

नेपाली फुटवल टिमका पूर्व राष्ट्रिय खेलाडी, सहारा क्लव हङकङका बरिष्ठ उपाध्यक्ष एवं सहारा क्लव पोखराका आजीवन सदस्य बिल तामाङलाई पोखराले सम्झेको छ।

तामाङको ४९ औं दिनको पुण्यतिथिमा सहारा क्लब पोखराले हिँजो (सोमबार) श्रद्धाञ्जली सभा कार्यक्रमको आयोजना गरेर उनलाई सम्झिएको हो।

तामाङले खेलकुद र सामाजिक क्षेत्रमा पुराएको योगदानको प्रशंसा गर्दै सोमबार श्रद्धान्जली सभा कार्यक्रम सम्पन्न भएको क्लवले जनाएको छ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेशकुमार गुरुङ, गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेजबहादुर गुरुङ, जिल्ला खेलकुद विकास समिति कास्कीका अध्यक्ष तोरणबहादुर बानिया, अग्रज पत्रकार नारायण कार्की, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एकराज गिरी, क्लवका संस्थापक अध्यक्ष बसन्त थकाली, सल्लाहकार सुनिल गुरुङलगायतले खेलाडी तामाङबारे चर्चा गर्दै उनको तस्वीरमा पुष्पगुच्छा चढाएका थिए। क्लवका अध्यक्ष केशवबहादुर थापाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।

सहारा एकेडेमीका पहिलो फुटवल प्रशिक्षक तामाङले फ्रेन्ड्स क्लब, आरसीटी, जनकपुर चुरोट कारखानालगायतका खेल संस्थाहरुबाट फुटवल खेलेका थिए। पोखरा संगम टोल निवासी ४६ बर्षीय तामाङको निधनले सहारा क्लवलाई समेत ठूलो क्षति पुगेको क्लवले जनाएको छ। एएफसी लाइसेन्सको प्रमाणपत्र लिन स्वदेश आएका तामाङको कोरोनाको कारण निधन भएको थियो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।