तस्बीरः एजेन्सी
अर्जेन्टिनाले जारी कोपा अमेरिका फुटबलको फाइनलमा स्थान बनाएको छ।
आज (बुधबार) बिहान भएको खेलमा कोलम्बियालाई टाइब्रेकरमा ३–२ ले हराउँदै अर्जेन्टिना फाइनलमा पुगेको हो।
निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो। पेनाल्टी सुटआउटमा अर्जेन्टिनाका लागि लियोनल मेस्सी, लौटारो मार्टिनेज र लियोनार्दो डेनियल पेरेडेसले गोल गरे। अर्जेन्टिनाका रोड्रिगो डी पाउल भने गोल गर्न चुके।
कोलम्बियाका जुआन काउड्राडो र मिगुएल बोरजाको प्रहारमात्र सफल बन्यो। डेभिन्सन साञ्चेज, यारी मिना र इडविन कार्डोनाको प्रयास असफल बन्यो।
अर्जेन्टिनी गोलरक्षक इमिलियानो मार्टिनेज टाइब्रेकरमा नायक बन्दा अर्जेन्टिना कोपा अमेरिका २०२१ को फाइनलमा प्रवेश गरेको हो। मार्टिनेजले ३ पेनाल्टी बचाएपछि अर्जेन्टिनाले ब्राजिलसँगको भेट पक्का गरेको हो। यसअघि, कोलम्वियाका इडविन कोर्डाेनाको पेनाल्टीलाई मार्टिनजले विफल पार्दै अर्जेन्टिनालाई फाइनलको बाटो देखाए।
यसअघि, खेलको सातौं मिनेटमा लोउटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई १–० को अग्रता दिलाएका थिए। कोलम्बियाले भने खेलको ६१ औं मिनेटमा गोल गर्दै खेललाई बराबरी गरेको थियो। त्यसपछि दुवै टोलीले गोल गर्न नसकेपछि खेल पेनाल्टी टाइब्रेकरमा धकेलिएको थियो।
अर्जेन्टिनाले अब उपाधिका लागि ब्राजिलसँग खेल्नेछ। नेपाली समय अनुसार शनिबार बिहान फाइनल खेल हुनेछ। अर्जेन्टिनाले सन् २००७ पछि पहिलो पटक ब्राजिलसँग फाइनल खेल्न लागेको हो।
योसँगै अर्जेन्टिना २९ औ पटक कोपा अमेरिकाको फाइनलमा पुगेको छ। सन् २०१६ पछि पहिलो पटक अर्जेन्टिना कोपा अमेरिकाको फाइनल पुगेको हो। अर्जेन्टिनाले १९९३ यता कोपा अमेरिकाको उपाधि जित्न सकेको छैन।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको मोहरियाटोलमा रहेको विन्ध्येश्वरी आदर्श स्कुलका विद्यार्थीले गुरुहरुको सम्मान गरेका छन् ।…





