तस्बीरः एजेन्सी
इंग्ल्याण्डले पहिलो पटक युरोकप फुटबलको फाइनलमा स्थान बनाएको छ।
आज (बिहीबार) बिहान वेम्बली स्टेडियममा भएको खेलमा अन्तिम सेमिफाइनलमा डेनमार्कलाई अतिरिक्त समयमा २–१ गोलले हराउँदै घरेलु इंग्ल्याण्ड उपाधि नजिक पुगेको हो।
इंग्ल्याण्डका कप्तान ह्यारी केनले निर्णायक गोल गरे। इंग्ल्याण्डले एक गोल आत्मघाती उपहार पाएको थियो। डेनमार्कका मिकेल डाम्सगार्डले एक गोल गरे। डेनमार्कले खेलको ३० औं मिनेटमा डाम्सगार्डले गरेको गोलबाट अग्रता बनाए पनि जोगाउन सकेन।
खेलको ३९ औं मिनेटमा डेनमार्कका कप्तान सिमोन क्येरले आत्मघाती गोल गरेपछि खेल १–१ को बराबरी बन्यो। दोस्रो हाफमा दुवै टोलीले गोल गर्न सकेनन् र खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयको १ सय ४ औं मिनेटमा इंग्ल्याण्डका कप्तान केनले गोल गरे।
रहिम स्ट्रर्लिङलाई जोकिम माहेलले पेनाल्टी बक्स भित्र फउल गर्दै लडाएपछि इंग्ल्यान्डले भीएआरको सहायताबाट पेनाल्टीको अवसर पाएको थियो। जसमा केनको पेनाल्टी प्रहार डेनमार्कका गोलकिपर कास्परले रोकेका थिए। तर, रिबाउन्डमा आएको बलमा केनले सहजै गोल गरे।
इंग्ल्यान्ड सन् १९६६ पछि पहिलो पटक मुख्य प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो।
पहिलो पटक युरोकपको फाइनलमा पुगेको इंग्ल्याण्ड र इटली आइतवार राति वेम्बली स्टेडियममा उपाधिका लागि फाइनल खेल्नेछन्।
इटाली पहिलो सेमिफाइनलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ४-२ ले हराएर फाइनल प्रवेश गरिसकेको छ ।
यसअघि, इंग्ल्याण्डले क्वाटरफाइनलमा युक्रेनमाथि ४-० गोलको सानदार जित निकाल्दै अन्तिम चारमा स्थान बनाएको हो। डेनमार्कले क्वाटरफाइनलमा चेक रिपब्लिकलाई २-१ गोल अन्तरले हराएर सेमिफाइनलमा स्थान बनाएको हो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


अमरसिंह माध्यमिक विद्यालय भूतपूर्व विद्याथी एसोसिएसनले जेहेन्दार तथा विपन्न विद्याथीलाई छात्रवृत्ति वितरण…







