एक घण्टाको बाटो २० मिनेटमा छोटियो


     एभरेस्ट आवाज    
     असार २४ गते २०७८ मा प्रकाशित




म्याग्दी। म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ पाखापानीको घोप्टेखोलामा झोलुङ्गे पुल निर्माण भएपछि एक घण्टाको बाटो २० मिनेटमा छोटिएको छ ।

पूर्वाधार विकास कार्यालय म्याग्दीले पाखापानीको कमनाथ र कोटगाउँको सिमाना भएर बग्ने घोप्टेखोलामाथि २६५ मिटर लामो झोलुङ्गे पुल निर्माण गरेपछि यात्रा अवधि छोटिएको हो । कोटगाउँका रोशन पुनले भीर, जङ्गल र खोल्साको घुमाउरो र जोखिमयुक्त बाटोमा यात्रा गर्नुपर्ने समस्या हटेको बताए । “पहिले कोटगाउँबाट कमनाथ पुग्न एक घण्टा हिँड्नु पर्दथ्यो”, उनले भने, “पुल बनेपछि २० मिनेटमा पुगिन्छ ।

”पुल निर्माण भएपछि पाखापानीको कमनाथ, कोटगाउँ, रायखोर र मुलपानीका ५०० भन्दा बढी घरधुरी लाभान्वित भएका रघुगङ्गा–६ पाखापानीका वडाध्यक्ष मनकुमार शेरपुञ्जाले बताए। कमनाथमा रहेका वडा कार्यालय, स्वास्थ्यचौकी र अमर माविमा आउन जान स्थानीयवासीलाई सहज भएको छ । सबैभन्दा बढी सहज विद्यार्थी र ज्येष्ठ नागरिकलाई भएको छ । पुल निर्माणका लागि हिमशिखर-जयलक्ष्मी जेभीले विसं २०७६ फागुन ९ गते रु दुई करोड ६२ लाख तीन हजार ४४३ मा ठेक्का सम्झौता गरेको थियो ।

विसं २०७८ साउन ८ गते पुल निर्माण सम्पन्न गर्ने लक्ष्य थियो । निर्माण कम्पनीले लक्ष्यअघिनै पुल निर्माण गरेको पूर्वाधार विकास कार्यालयका प्रमुख नवराज पौडेलले बताए । निर्माण कम्पनीका कर्मचारी बाबुराम सापकोटाले कोरोनाको जोखिम, निषेधाज्ञा र बाढी पहिरोको असहज अवस्थामा पनि लक्ष्यअघिनै पुल निर्माण गर्न सफल भएको बताए ।

स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर मजदुर परिचालन र निर्माण सामग्रीको व्यवस्थापन गरेर पुल निर्माणलाई निषेधाज्ञामा निरन्तरता दिएको उनले बताए । धौलागिरि सेञ्चुरी पदमार्गमा पर्ने यो पुल पर्यटनका हिसाबले पनि महत्वपूर्ण बन्ने देखिएको छ । लामो दूरीको पुल अवलोकन गर्न पर्यटक आउने सम्भावना छ । यो म्याग्दीको दोस्रो लामो पुल हो ।

यसअघि रघुगङ्गा–१ बेग र बादुक जोड्ने ३६५ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको थियो । यसैबीच जिल्लाको मङ्गला गाउँपालिका–२ सिमलचौर र वडा नं ३ पखेरको सिमाना लुलीयाघाटमा म्याग्दी नदीमाथि पनि झोलुङ्गे पुल निर्माण भएको छ । करिब ९० मिटर लामो पुल निर्माणका लागि हिमशिखर–रामकृष्ण जेभीले रु २९ लाख २० हजार ७०९ मा ठेक्का लिएको थियो ।(रासस)


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।