पोखरा पर्यटन परिषदको घोषणा : कोरोना खोप नलगाएसम्म सेवा दिन सक्दैनौं


     एभरेस्ट आवाज    
     असार २४ गते २०७८ मा प्रकाशित




पोखरा पर्यटन परिषद (पिटीसी)ले कोरोनाबिरुद्धको खोप नलगाएसम्म पर्यटन व्यवसाय सञ्चालन नगर्ने घोषणा गरेको छ । परिषदले विहीबार पोखरामा पत्रकार सम्मेलन गर्दै कोरोना खोप नलगाएसम्म होटल, रेष्टुरेण्टलगायत पर्यटनसँग सम्बद्ध सबै व्यवसाय सञ्चालन नगर्ने घोषणा गरेको हो । पर्यटनसँग सम्बद्ध सबै व्यवसाय सञ्चालन गर्नुअघी कोरोना खोप अनिवार्य दिनुपर्ने परिषदको माग छ । परिषदका अध्यक्ष गोपीबहादुर भट्टराईले व्यवसाय सञ्चालनका लागि कोरोना खोप सञ्जीवनी भएकाले छिटो उपलब्ध गराईदिन संघ, प्रदेश र स्थानिय तीनवटै सरकारलाई आग्रह गरे । ‘कोरोना खोप नलगाएसम्म सेवा दिन सक्दैनौं, नो भ्याक्सिन, नो टुरिजम, त्यसैले सेवा सञ्चालनका लागि खोप अनिवार्य हो’–उनले भने ।

अध्यक्ष भट्टराईले पर्यटनसँग सम्बद्ध व्यवसायी, कर्मचारी र मजदुर सबैलाई खोप दिनुपर्ने बताए । कतिपय पर्यटकहरु पोखरा आउनका लागि तयार रहेपनि कोरोना खोप नलगाएकै कारण आउन डराएर बुकिङसमेत रद्ध गर्नेगरेको बताए । ‘कतिपय विदेशी पर्यटकहरुले पोखरा आउने मनसाय व्यक्त गरेका छन्, कतिपयले बुकिङसमेत गरेका छन्, त्यस्ता पर्यटकले हामीलाई भ्याक्सिन लगाएको छ कि छैन भनेर सोध्छन्, अनि आफूहरुले खोप त लगाएको छैन भनेपछि बुकिङ क्यान्सिल गर्छन्’–उनले भने । उनले खोप नलगाएसम्म जतिसुकै चर्चा परिचर्चा र प्रवद्र्धन गरेपनि पर्यटक नआउने ठोकुवा गरे ।

नेपाल पर्यटन वोर्डका पूर्व कार्यकारी सदस्य अग्नी कँडेलले खोप नलगाएसम्म सेवा दिने अवस्था नरहेको बताए । ‘खोप लगाउने हो भने पर्यटक आउँछन्, उनीहरुलाई आकर्षित गर्नपनि राज्यले पर्यटनलाई प्राथमिकता दिएर खोपको ब्यबस्था गर्नुपर्छ’–उनले भने ।

परिषदका पूर्व अध्यक्ष गणेशबहादुर भट्टराईले काठमाडौंका पर्यटन व्यवसायीलाई खोप दिदा पर्यटनको राजधानी पोखरामा पर्यटनसँग सम्बन्धित सरोकारवालाहरुलाई खोप नदिनू अन्याय भएको बताए । उनलेपनि खोप लगाएपछि मात्रै व्यवसाय सञ्चालन गर्न सकिने बताए ।

पर्यटन वोर्डका पूर्व कार्यकारी सदस्य बासु त्रिपाठीले खोप नै अहिलेको लागि सञ्जिीवनी भएको बताए । उनले नो भ्याक्सिन, नो टुरिज अहिलेको यथार्थ भएको बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।