सिर्दिबासमा पुर्‍याइयो १५० क्विन्टल चामल


     एभरेस्ट आवाज    
     असार २७ गते २०७८ मा प्रकाशित




गोरखा। सडक मार्ग र खच्चडबाट समेत ढुवानी सम्भव नभएपछि उत्तरी गोरखाको सिर्दिबासमा हेलिकप्टरबाट १५० क्विन्टल चामल पुर्‍याइएको छ ।

बाढीपहिराका कारण सदरमुकामसम्म जोडिने सडक तथा पैदल मार्गसमेत अवरुद्ध भएपछि ती क्षेत्रमा खाद्यान्न लगिइएको हो । खाद्य तथा व्यापार कम्पनी लिमिटेडले नेपाली सेनाको हेलिकप्टर मार्फत चामल ढुवानी गरेको लिमिटेडका सूचना अधिकारी शिव सुनारले जानकारी दिए। उनका अनुसार अनुदानका चामल सिर्दिबास पुर्‍याइएको हो ।

प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलको समन्वयमा दुई दिन लगाएर शनिबार साँझसम्ममा चामल सिर्दिबास डिपोमा पुर्‍याइएको उनले बताए । जिल्लाको चुमनुव्री गाउँपालिका क्षेत्रमा पर्ने सिर्दिबास डिपोबाट सर्दीबास, चुम्चेत, छेकम्पार, बिही, प्रोक र ल्हो क्षेत्रका बासन्दिलाई सहुलियतमा चामल उपलब्ध गराइँदै आइएको छ ।

“बाढीपहिरोले सडक मार्ग मात्र होइन खच्चड हिड्न सक्ने समेत बाटो नभएपछि जिल्ला प्रशासन कार्यालयका पहलमा सेनाको हेलिकप्टर मगाएर दुई दिन गरेर चामल पठाइएको छ ”, सूचना अधिकारी सुनारले भने “मौसम खराबीका कारण भनेको समयमा हेलिकप्टर आउन नसक्दा असार २३ गतेपछि दोस्रो पटक शनिबार थप चामल सिर्दिबास पुर्‍याउन सम्भव भएको हो ।

”पहिलो पटक ८५ क्विन्टल र दोस्रो पटक ६५ क्विन्टल चामल डिपोमा पुर्‍याएर सुरक्षित भण्डारण गरिएको उनले बताए । कम्पनीले यस बर्ष सिर्दिबास डिपोमा तीन हजार ५०० क्विन्टल चामल ढुवानी गनुपर्नेमा गत जेठको अन्तिम सातादेखि नै अबिरल बर्षा शुरु भएपछि चामल लैजान सकिइएको थिएन् । हेलिकप्टर मार्फत डिपोमा पुर्‍याइएको चामल अरुवा मन्सुलीप्रति किलो ५० रुपैयाँ ३० पैसामा बिक्री गर्ने सिर्दीबास डिपोले जनाएको छ । (रासस)


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।