मनकामना स्मार्ट लघुवित्तको आइपिओे बाँडफाँट


     एभरेस्ट आवाज    
     असार २८ गते २०७८ मा प्रकाशित




काठमाडौँ। मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले सर्वसाधारणका लागि जारी गरेको आइपिओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटलले आज बिहान क्यापिटलकै कार्यालयमा शेयर बाँडफाँट गरेको हो ।

कम्पनीले यही असार १७ गतेदेखि २१ गतेसम्म सर्वसाधारणमा आइपिओ जारी गरेको थियो । संस्थाको आइपिओमा १९ लाख ५४ हजार २७४ जनाले आवेदन दिएका थिए । आवेदन दिएकामध्ये दुई हजार ७५३ जनाको आवेदन रद्द हुँदा १९ लाख ५१ हजार ५२१ जना योग्य आवेदक कायम गरिएको क्यापिटलले जनाएको छ ।

मागभन्दा बढीको आवेदन परेपछि क्यापिटलले योग्य रहेका उक्त आवेदकलाई गोलाप्रथामा सहभागी गराई शेयर बाँडफाँट गरेको थियो । जसअनुसार गोलाप्रथाबाट ३६ हजार ३४९ जनाले १० कित्ताको दरले शेयर पाएका छन् । तीमध्ये दुई जनाले ११ कित्ता शेयर पाएका छन् । आवेदन दिएकामध्ये १९ लाख १७ हजार बढी आवेदकको हात खाली भएका छन् । कम्पनीले रु तीन करोड ८९ लाख बराबरको तीन लाख ८९ हजार ४९२ कित्ता साधारण सेयर बिक्री खुला गरेको थियो ।

जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात् १९ हजार ४५० कित्ता सेयर सामूहिक लगानीका लागि र छ हजार ५८ कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ । बाँकी रहेको तीन लाख ६३ हजार ४९२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका हुन् । आइपिओको नतिजा मेरोसेयर, सिडिएसले आइपिओ नतिजाका लागि तयार पारेको वेबसाइट र बिक्री प्रबन्धक एनएमबी क्यापिटलको वेबसाइटबाट हेर्न सकिने छ । (रासस)


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।