पृथ्वी राजमार्गले निषेधाज्ञा नमान्ने, असार ३० गतेदेखि गाडी चलाउने


     एभरेस्ट आवाज    
     असार २८ गते २०७८ मा प्रकाशित




नेपालको सबैभन्दा धेरै गाडी भएको पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिले निषेधाज्ञा नमान्ने घोषणा गरेको छ । सरकारले आफूहरुको माग सम्बोधन नगरेको भन्दै उसले यहि असार ३० गतेबाट देशभर गाडी सञ्चालन गर्ने बताएको छ । कम्पनीले सोमबार पोखरामा पत्रकार सम्मेलन गर्दै असार ३० गतेबाट नियमित गाडी सञ्चालन गर्ने जानकारी दिएको हो ।

कम्पनीले तोकिएको मितिबाट टिकट बुकिङ काउन्टर खोल्ने र मागका आधारमा गाडी सञ्चालन गर्ने जनाएको छ । कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसीले गाडी सञ्चालन गर्दै गर्दा प्रशासनले रोकेको खण्डमा जहाँ रोकेको हो त्यहिंको प्रशासनसँग समन्वय गरेर गाडीलाई गन्तव्यसम्म पु¥याइने बताए । अध्यक्ष केसीले गाडी सञ्चालन गर्दा प्रशासनले गिरफ्तारी गरे आफूहरु गिरफ्तारी दिनपनि तयार रहेको बताए ।

निषेधाज्ञाका बीच नीजि सवारी साधनलाई सञ्चालन गर्न दिने तर लामा दुरीका सार्वजनिक सवारी साधन सञ्चालन गर्न नदिने राज्यको नीति नै पूर्वाग्रहपूर्ण रहेको कम्पनीको गुनासो छ । ‘नीजि सवारी साधनमा कोरोना नसर्ने, अनि हामीले चलाउने सार्वजनिक गाडीमा मात्रै कोरोना सर्ने ? त्यस्तो त दुनियामा कहिंपनि हुँदैन’–अध्यक्ष केसीले भने । यदि वैज्ञानिक हिसाबले सार्वजनिक गाडीमा मात्रै कोरोना सर्ने पुष्टि भएमा मात्र आफूहरुलाई मान्य हुने उनको भनाई थियो ।

अध्यक्ष केसीले बैंक तथा वित्तिय संस्थाले लोनको किस्ता र ब्याज तिर्न ताकेता जारी राखेको, मजदुरहरुले भोकभोकै बस्नुपर्ने स्थिति रहँदापनि सरकारले आफूहरुको माग सम्बोधन नगरेपछि आफूहरु भद्र रुपमा गाडी सञ्चालन गर्नुपर्छ भन्ने निश्कर्षमा पुगेको बताए । उनले भाडा समायोजन गर्ने माग पनि राज्यले सम्बोधन गर्नुपर्ने उनको भनाई छ ।

कम्पनीले गाडी सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड पालना गर्ने जनाएको छ । कम्पनीले बस चढ्ने यात्रुलाई सेनिटाइजरको ब्यबस्था गरिने बताएको छ भने बसमा चढ्दा मास्क अनिवार्य गर्ने तर मास्क यात्रु आफैले लिएर आउनुपर्ने नभएर १० रुपैयाँमा खरिद गर्नेगरी बसमै उपलब्ध गराउने अध्यक्ष केसीले बताए । साथै हरेक दिन बसलाई निसंक्रमण गर्ने उनको भनाई छ ।

कम्पनीका पूर्व अध्यक्ष ऐनकुमार साहीले बाध्यतावश कोरोनाका बीच गाडी सञ्चालन गर्ने अप्रिय निर्णय लिनुपरेको बताए ।

यसैबीच, कम्पनीले आगामी निर्वाचनहरुमा दलहरुलाई सित्तैमा गाडी नदिने घोषणा गरेको छ । यसअघी निःशुल्क गाडी दिनेदेखि आन्दोलन र चुनावमा सहयोग गर्दापनि दलहरुले आफूहरुको समस्या समाधानमा चासो नदेखाएकाले आगामी निर्वाचनहरुमा गाडी नदिने निश्कर्षमा पुगेको अध्यक्ष केसीले बताए । पूर्व अध्यक्ष साहीले भने चुनावमा दलहरुलाई गाडी नदिने नभई सित्तैमा गाडी नदिने भनिएको स्पष्ट पारे । ‘चुनावमा हामी अब प्रयोग हुँदैनौं, गाडीमा कार्यकर्ता बोक्दैनौं भन्दैनौं, बोक्छौं तर पहिले सित्तैमा बोक्थ्यौं, अब भाडा लिएर मात्र बोक्छौं ।’–उनले भने ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।