गण्डकी प्रदेश सभामा सरकार पक्ष र बिपक्षीबीच आरोपप्रत्यारोप


     एभरेस्ट आवाज    
     श्रावण १ गते २०७८ मा प्रकाशित




पोखरा । गण्डकी प्रदेशमा केहि दिन पहिले प्रदेश सरकार र बिपक्षी नेकपा एमालेबीच आरोपप्रत्यारोप चल्यो ।

प्रदेश सरकारले एमालेका पृथ्वी सुब्बा गुरुङ नेतृत्वको पूर्व सरकारले अविश्वासको प्रस्ताव आएपछि सत्ता छाड्ने बेलामा रातो कितावमा नपरेका ११ वटा आयोजनाका लागि ४ अर्ब ५१ करोडको टेण्डर गरेको आरोप लगायो । प्रदेश सरकारका प्रवक्ता तथा विज्ञान, प्रविधी तथा सामाजिक विकास मन्त्री कुमार खड्काले एमाले नेतृत्वको पूर्व सरकारले जाने बेलामा गरेको यी योजनाहरु आर्थिक अनुशासनका हिसाबलेपनि अगाडि बढाउन नमिल्ने र यसका लागि बजेट पनि नभएको भन्दै ती योजना अगाडि नबढाउने बताए ।

त्यसलाई काउन्टर दिदै एमाले संसदीय दलले प्रदेश सरकारले असारको अन्तिममा आएर १४ करोड रकमान्तर गरेको भन्दै बिरोध जनायो । पूर्व मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता पृथ्वी सुब्बा गुरुङले खर्च गर्नसमेत नभ्याइने असारको अन्तिममा रातो किताबमा समेत उल्लेख नभएका योजनालाई बजेट दिएर कांग्रेस नेतृत्वको सरकारले भ्रष्टाचारको शुरुवात गरेको आरोप लगाए ।

एकअर्का प्रति आरोप प्रत्यारोप चलिरहँदा असार २७ गते बजेटसम्बन्धी छलफलका लागि प्रदेश सभा बैठक बोलाइयो । तर एमालेले रकमान्तरको फेहरिस्त माग्दै प्रदेश सभा बैठक अबरुद्ध ग¥यो । पटक÷पटकको अवरोधपछि भएको छलफलमा एमाले सांसदको संयोजकत्वमा छानविन समिति बनाएर यथार्थ पत्ता लगाउने सहमति भयो । तर असार २८ गते फेरी एमालेले आफू नेतृत्वको सरकारले बढाएका योजनालाई बजेट नछुट्याएको भन्दै प्रदेश सभा बैठक अबरुद्ध ग¥यो । एमालेले छुटाएको योजनाहरुमा बजेट दिनुपर्नेलगायतका १० बुँदे ज्ञापनपत्र मुख्यमन्त्रीलाई बुझायो ।

तर कांग्रेस नेतृत्वको सरकारले बिपक्षीको माग जायज नभएको भन्दै ती योजनाहरुलाई बजेट दिन नसक्ने जनायो । र पेलेर जाने योजना अनुरुप बजेट पारित गर्नका लागि सदन चलाउन सभामुखलाई आग्रह भयो । असार ३० गते बजेट पारित गर्न बोलाइएको बैठकमा एमालेले नाराबाजी मात्र गर्ने निर्णय गरेको थियो । तर सांसद विन्दुकुमार थापा पुगेर मुख्यमन्त्रीलाई सुरक्षा दिन खोज्दा बिपक्षी सांसदहरु उत्तेजित भए र चर्कोचर्को नाराबाजी गर्ने तथा टेबल फ्याँक्नेसम्मको हर्कतहरु भयो ।

प्रदेश सभामा भएको हर्कतको आलोचना भएपछि अहिले उक्त घट्ना हुनुमा एकले अर्कोलाई दोषारोपण गरिरहेका छन् । एमालेका प्रदेश सभा सदस्य तथा भौतिक पूर्वाधार मन्त्री रामशरण बस्नेतले पत्रकार सम्मेलन गरेरै सरकार एकलौटी रुपमा अगाडि बढ्दा घट्ना घटेको बताइसकेका छन् । उनले भनेका छन्,‘हामी सत्तापक्ष भन्दा केवल ४ मतले मात्र कम छौं, तर यसलाई बेवास्ता गर्दै सरकारले पेलेर जान खोजिरहेको छ, हामी त्यसको प्रतिवाद गर्छौं ।’ प्रदेश सभामा भएको घटनापनि प्रतिवाद गर्दा उत्पन्न परिस्थिति भएको उनको भनाई छ ।

एमालेका अर्का सांसद राजिव पहारीले नाराबाजी मात्र गरेर बैठक स्थल छाड्ने कार्यक्रम भएको र यो कुरा सभामुखलाईपनि जानकारी गराएको बताए । तर कांग्रेस सांसद विन्दु थापाले आफूहरुलाई रोक्न खोज्दा केहि उत्तेजित भएको उनको भनाई छ । ‘सरकार एकपक्षीय रुपमा प्रस्तुत भयो, सिद्धिन लागेको योजनालाई बजेट नदिने, एक घर एक धारा, उज्यालो प्रदेश, गण्डकी प्रदेशलगायतका गौरवका योजनालाई बजेट नदिने, तर आफ्नालाईचाहिं खट्टे बाँढेझैं बाँढेका कारणपनि हाम्रो आक्रोस बढेको हो’—उनले भने ।

तर सरकारका प्रवक्ता तथा मन्त्री कुमार खड्काले बजेट पारित गर्न नदिएर संवैधानिक संकट निम्त्याउने, आर्थिक अराजकता निम्त्याउने र अन्ततः सरकार नै असफल भएको देखाएर संसद विघटन गर्ने योजना अन्तर्गत घटाइएको घटना भएको बताए । ‘उहाँहरुको सरोकार बजेटमा मात्र थिएन, उहाँहरु त बजेट पारित गर्न नदिने, संवैधानिक संकट निम्त्याउने, आर्थिक अराजकता निम्त्याएर बजेट ल्याउन नसक्ने सरकार असफल सरकार हो भन्ने र नैतिकताका आधारमा राजिनामा गराएर सदन विघटन गर्ने योजना थियो, त्यो हामीलाई मान्य भएन र हामीले बजेट पारित गर्न खोज्दा समस्या निम्तियो ।’ सरकार जसरीपनि समयमै बजेट पास गर्नुपर्छ भनेर बाध्यात्मक रुपमा मार्सल लगाएर बजेट पारित गर्नेतर्फ लाग्दा बिपक्षीलाई नपचेको र आक्रोसमा आएर विभिन्न हर्कत देखाएको उनको भनाई छ । बिपक्षीले उज्यालो प्रदेश, गण्डकी प्रदेश, एक घर एक धारालगायतका गौरवका आयोजनालाई बजेट नछुट्याएको भनेपनि सरकारले सबै कार्यक्रमका लागि बजेट छुट्याएको उनको दाबी छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।