‘विपद्बाट नागरिकलाई जोगाउनु पहिलो प्राथमिकता’


     रासस    
     श्रावण १ गते २०७८ मा प्रकाशित




फाइल तस्विर

काठमाण्डौँ । गृहमन्त्री बालकृष्ण खाँणले मनसुनमा हुनसक्ने विपद्बाट नागरिकको जीवन रक्षा गर्नु सरकारको पहिलो कर्तब्य भएको बताएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आज स्थलगत निरीक्षणपछि कार्यक्रममा मन्त्री खाँणले वर्तमान अवस्थामा पहिलो प्राथमिकता विपद् प्राधिकरण रहेको र जनताको सुरक्षाका लागि गम्भीर भएर लाग्न निर्देशन दिए ।

मन्त्री खाँणले नागरिकको जीवनरक्षाका लागि विपद् जोखिम न्यूनीकरणको सवालमा प्राधिकरणको संस्थागत सुदृढीकरण, बजेट व्यवस्थापनलगायत मन्त्रालयले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।

गृहमन्त्रीको पदभार ग्रहणपछि मातहतका निकायमध्ये प्राधिकरणलाई पहिलो प्राथमिकता दिँदै उहाँले आज यहाँ भ्रमण गरेका थिए । उनले प्राथमिकताको विषय भएकाले भ्रमण नै यहाँबाट शुरु गरिएको जानकारी दिँदै बजेट थप गर्न र भवनका लागि आवश्यक जग्गा व्यवस्थापनमा गम्भीर भएर लाग्ने आश्वासन दिएका छन् ।

समारोहमा गृहसचिव महेश्वर न्यौपानेले विपद्को जोखिम न्यूनीकरण र पूर्वतयारीमा प्राधिकरणले बढी ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए ।

प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले प्राधिकरणबाट भएका काम, यसका चुनौती र आगामी कार्यदिशाबारे जानकारी गराएका थिए । उनले निजी आवास पुनःनिर्माणका विषयमा समेत जानकारी गराएका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।