षडयन्त्र कि संयोग : कोरोना रिपोर्ट पोजिटिभ भनिएकी धाविका सरस्वतीकी प्रशिक्षक मल्लको पछिल्लो रिपोर्ट नेगेटिभ देखियो


     एभरेस्ट आवाज    
     श्रावण ४ गते २०७८ मा प्रकाशित



टोकीयो ओलम्पिकमा प्रशिक्षकका रुपमा जापान जान लागेकी ईन्द्राकुमारी मल्ललाई कोरोना पोजिटिभ भनिएपनि उनको पछिल्लो रिपोर्ट कोरोना नेगेटिभ आएको छ । धाविका सरस्वती चौधरीको प्रशिक्षकका रुपमा टोकियो ओलम्पिकमा सहभागिता जनाउन लागेकी उनलाई अन्तिम समयमा कोरोना पोजिटिभ देखिएको भन्दै उनको नाम काटिएको थियो । उनी नजाने पक्का भएसँगै उनको ठाउँमा प्रारम्भिक सूचीमा रहेका सन्तोष श्रेष्ठलाई पठाउने निर्णय भएको भन्दै नेपाल ओलम्पिक कमिटीले विज्ञप्ती जारी गरिसकेको छ ।

तर अहिले आएर गरिएको कोरोना टेष्टमा ईन्द्राकुमारी मल्लको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । यसलाई लिएर अहिले विभिन्न शंका÷उपशंका गर्न थालिएको छ । कसैले यसलाई ईन्द्रालाई रोकेर सन्तोषलाई टोकियो ओलम्पिक पठाउने षडयन्त्र भएको हो कि भनेर शंका व्यक्त गरेका छन् । कसैले भने यसलाई संयोग मात्रै भएको हुनसक्ने भनेका छन् ।

टोकियो ओलम्पिकका प्रशिक्षकका रुपमा छनौट भएर कोरोना पोजिटिभ देखिएको भन्दै नाम काटिएकी ईन्द्राकुमारी मल्लले भने आफूमाथि अन्याय भएको हुनसक्ने बताएकी छन् । उनले षडयन्त्रपूर्वक आफ्नो नाम काटिएको हुनसक्ने शंका गर्ने ठाउँ उत्पन्न भएको बताएकी छन् ।

‘षडयन्त्रपूर्वक कसैले मलाई हटाउन पोजिटिभ रिपोर्ट निकाल्यो वा त्रुटीवश मेरो रिपोर्टमा पोजिटिभ देखियो, त्यो त मलाई थाहा भएन, तर शंका गर्ने ठाउँ प्रशस्त छ’–उनले भनिन् । उनले आफूमाथि अन्याय भएको दाबी गरिन् ।

शुरुमा आफूलाई पनि रिपोर्टमा जस्तै पोजिटिभ नै भएको होला भन्ने लागेर पुनः परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको भन्दै उनले भनिन्,‘ओलम्पिक कमिटीले भनेकै स्टार हस्पिटलमा गएर आइतबार पुनः परीक्षण गराएँ, त्यसको रिपोर्ट आज आउँदा कोरोना नेगेटिभ छ ।’ उनले स्टार हस्पिटलबाहेक अन्य हस्पिटलमा पनि आफूले परीक्षण गर्दा सबैमा कोरोना रिपोर्ट नेगेटिभ आएको बताइन् । कोभिडका दुवै खोप आफूले लगाइसकेको मल्लले बताएकी छन् ।

तर नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्द राजवैद्यले दुई वटा खोप अनिवार्य लगाएको र टोकियो आउनुअघि लगातार सात दिन कोरोनाको रिपोर्ट नेगेटिभ आएकाले मात्र टोकियो ओलम्पिकमा भाग लिन पाउने मापदण्ड रहेको यसअघी बताएका थिए । ७ पटक मध्ये कुनै एउटा रिपोर्टमा मात्रपनि पोजिटिभ देखिए पनि जोकसैको भ्रमण रोकिने उनको भनाई छ । सो अनुसार मल्ललेपनि टोकियो ओलम्पिकमा सहभागिता जनाउन नपाउने उनले स्पष्ट पारे ।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।