साउनको अन्तिम साताबाट कक्षा १२ को परीक्षा गर्ने तयारी

- कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले विद्यार्थीको भौतिक उपस्थितिमै कक्षा १२ को परीक्षा गर्न अनुमति दिएको हो


     एभरेस्ट आवाज    
     श्रावण ५ गते २०७८ मा प्रकाशित



फाइल तस्बीर

साउनको अन्तिम साताबाट कक्षा १२ को परीक्षा गर्ने तयारी थालिएको छ।

कोरोना भाइरस संक्रमण (कोभिड–१९) कारण स्थगित कक्षा १२ को अन्तिम परीक्षा साउन मसान्तबाट सुरु गरिने भएको हो।

विद्यार्थीको भौतिक उपस्थितिमै विगतमा जस्तै एक सय पूर्णाङ्कको लिखित परीक्षा लिइने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले विद्यार्थीको भौतिक उपस्थितिमै कक्षा १२ को परीक्षा गर्न अनुमति दिएकाले साउनको अन्तिमबाट परीक्षा सुरु गर्ने योजना रहेको बोर्डले जनाएको छ।

यसअघि, बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै परीक्षा संचालन गर्न (सीसीएमसी)सँग अनुमति मागेको थियो। अब छिट्टै बोर्डको बैठक बसेर परीक्षा कार्यतालिका सार्वजनिक गर्ने जनाइएको छ।
यसैबीच, बोर्डले यसपटक एक सय पूर्णाङ्ककै परीक्षा संचालन गर्ने भएको छ।

गत वर्ष कोरोना भाइरसका कारण कक्षा १२ मा अध्ययन गर्ने विद्यार्थीको जम्मा ४० पूर्णाङ्कको परीक्षा लिइएको थियो। बोर्डको यस खालको तयारीपछि अब कक्षा १२ का विद्यार्थीले ३ घण्टाकै परीक्षा दिनुपर्नेछ।

कक्षा १२ मा अध्ययन गर्ने विद्यार्थी उच्चशिक्षामा प्रवेश गर्ने र विदेशी विश्वविद्यालयमा अध्ययनका लागि समेत जाने हुँदा गुणस्तरमा कमी गर्न नहुने भएकाले लिखित परीक्षा नै लिने निचोडमा बोर्ड पुगेको हो।

कोरोना संक्रमण कायमै रहेको अवस्थामा विद्यार्थीलाई सामाजिक दूरी कायम गराउने तथा स्वास्थ्य मापदण्डको समेत पालना गरेर परीक्षा लिने योजना रहेको छ। विद्यार्थीको अर्को विद्यालयमा परीक्षा लिन जान अझै संभव नदेखिएकाले होम सेन्टर हुन सक्ने संभावना छ।

कोरोना संक्रमण बढेपछि गत जेठ २६ गतेबाट सुरु गर्ने योजना रहेको कक्षा १२ को अन्तिम वार्षिक परीक्षा सरकारले रोक्ने निर्णय गरेको थियो।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।