आज बकर इद (ईद ऊल जोहा) अर्थात ‘ईल उद अधा’ पर्व

- स्वास्थ्य मापदण्ड अपनाएर बकर इद पर्व मनाउन आग्रहसहितको गण्डकी प्रदेश मुख्यमन्त्री पोखरेलद्वारा शुभकामना


     एभरेस्ट आवाज    
     श्रावण ६ गते २०७८ मा प्रकाशित



मुस्लिम समुदायको दोस्रो ठूलो पर्व बकर इद (ईद ऊल जोहा) अर्थात ‘ईल उद अधा’ पर्व।

मुस्लिम धर्मालम्बमा आजको दिनलाई धेरै नामबाट विश्वभरिका मुसलमान समुदाय ले यस बर्षको बकर ईद पर्व मनाँउदै छन् । ईस्लाम पात्रो ‘हिजारी सम्वत’ अनुसार नयाँ वर्षको ‘जुल हिज्जा’ महिनाको १० औं दिन यो पर्व मनाइन्छ।

ईस्लाम समुदायमा आजको दिन बिहान सबैरै उठेर नुहाइ धुवाई गरी शुद्ध हुने र खुलास्थान वा मस्जिदहरूमा गई नमाज पढ्नुका साथै अंगालोमा बाँधिएर एक–आपसमा शुभकामना आदान–प्रदान गर्ने गरिन्छ। नवाज पढेर घर फर्किएपछि खसी, बाख्रा, राँगा र भैंसीको कुर्वानी (वली) दिने परम्परा छ। वली दिइएको पशुको मासु ३ भाग लगाइन्छ, त्यसमध्ये एक भाग आफ्नोलागि अर्को एक भाग आफ्ना नजीकका मित्रलाई र अन्तिम तेश्रो भाग गरीब तथा असहायलाई बाँड्ने गरिन्छ।

मुस्लिम धर्मावलम्बीले आज एकै ठाउँमा बसी नमाज पढेर चौपायालाई कुर्वानी अर्थात् बलि दिई मनाउँदैछन् । इब्राहिमले सपनामा आफ्नो छोरा इस्माइललाई अल्लाहको आदेशानुसार बलि दिन जंगलमा लगेपछि छोरालाई बलि चढाउन लाग्दा फेरि अल्लाहले इस्माइलको स्थानमा भेडाको थुम्बालाई राखिदिएको मुस्लिम समुदायको धार्मिक कथा छ।

कुर्वानीको उद्देश्य जीवन र मरण सम्पूर्ण नै ईश्वरकोलागि हो भन्ने भावना जागृत गराउनु हो। हरेक मुस्लिमहरूका लागि जीवनमा एकफेर साउदी अरबको मक्कामा हज तिर्थयात्रा गर्न जरुरी मानिन्छ जसकालागि एउटा निश्चित समय तय गरिएको हुन्छ ।

आजका दिन राष्ट्रिय विदा समेत घोषणा भइसकेको छ। मुस्लिम समुदायको बकर इदका अवसरमा आज साउन ६ गते नेपाल सरकारले सार्वजनिक बिदासमेत दिएको छ। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले मुस्लिम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

स्वास्थ्य मापदण्ड अपनाएर पर्व मनाऔँः मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले धार्मिक एवं सांस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता कायम राखी राष्ट्रिय एकतालाई अझै मजबुत बनाउन महत्वपूर्ण योगदान दिएको बताएका छन्।

मुस्लिम समुदायको पर्व बकर इद (इदुल जोहा)को उपलक्ष्यमा आज (बुधबार) शुभकामना सन्देश व्यक्त गर्दै पोखरेलले यस पर्वले विविध धर्म, संस्कृति मान्ने सबै नेपालीबीच भ्रातृत्व, प्रेम र एकताको भावना बढाई समुन्नत, शान्त र समृद्ध मुलुक बनाउन सबैमा प्रेरणा प्रदान गरोस् भनी कामना गरेका छन्।

बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं भौगोलिक विविधतायुक्त हाम्रो मुलुक संविधानतः धर्म निरपेक्ष भए पनि धार्मिक सहिष्णुता अनुकरणीय रहेको सन्देशमा भनिएको छ। इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ।

विश्वभरकै मानवका लागि चुनौती बनेको कोरोना भाइरसविरुद्धको संघर्षमा सफलता प्राप्त गर्न र महामारीका बेलामा अझ दरिलोरूपमा जुट्न आजको दिनले हामी सबैलाई हौसला मिल्ने विश्वास व्यक्त गर्दै मुख्यमन्त्री पोखरेलले स्वास्थ्य मापदण्ड अपनाएर पर्व मनाउन आग्रह गरेका छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे ः यस एभरेष्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।