१२ वर्षकी सिरियाली हेन्ड जाजा टोकियो ओलम्पिककी सबैभन्दा कान्छी खेलाडी


     एभरेस्ट आवाज    
     श्रावण ९ गते २०७८ मा प्रकाशित




तस्बीरः एजेन्सी

१२ वर्षीया सिरियन टेबलटेनिस खेलाडी हेन्ड जाजाले टोकियो ओलम्पिककी सबैभन्दा कान्छी खेलाडीका रुपमा सहभागिता जनाउँदै छिन्।

सन् २०२० को फेब्रुअरीमा जोर्डनमा सम्पन्न वेस्टन एसिया ओलम्पिक क्वालिफाइङमा ५ मध्ये ४ खेलमा जित निकाल्दै उनी ११ वर्षको उमेरमै ओलम्पिकका लागि क्वालिफाइ भएकी थिइन्।

टोकियो ओलम्पिकमा जाजाले टेबलटेनिस महिला सिंगलतर्फ प्रतिस्पर्धा गर्नेछिन्। इन्टरनेशनल टेबलटेनिस फेडेरेसनका अनुसार उनको जन्म २००९ जनवरी १ मा भएको हो। उनी टेबलटेनिसको वरीयतामा १५५ औं स्थानमा छिन्।

‘हाम्री च्याम्पियन हेन्डलाई टोकियो ओलम्पिकका लागि शुभकामना,’ सिरियन ओलम्पिक कमिटीले आफ्नो फेसबुक पेजमा लेखेको छ।

जाजा ५२ वर्षपछि ओलम्पिकमा प्रतिस्पर्धा गर्ने सबैभन्दा कम उमेरकी खेलाडी हुन्। यसअघि सन् १९६८ को विन्टर ओलम्पिकमा ११ वर्षको उमेरमा बिएट्रिस हुस्तिउले स्केटिङमा प्रतिस्पर्धा गरेकी थिइन्।

टोकियो ओलम्पिकमा जाजा बाहेक अर्की ‘प्रि टीन’ खेलाडी हुनेछिन् ब्रिटेनकी स्काइ ब्राउन। १२ वर्षे उनी ब्रिटेनको टिमबाट स्केट बोर्डिङमा प्रतिस्पर्धा गर्नेछिन्।

ओलम्पिकमा सबैभन्दा युवा खेलाडीका रुपमा ग्रीक खेलाडी डिमिट्रिओस लउन्ड्रय् छन्। सन् १८९६ मा उनले १० वर्षको उमेरमा ओलम्पिकमा सहभागिता जनाउँदै कास्य पदक जितेका थिए।

यसअघि, ब्राजिलमा भएको रियो ओलम्पिकमा नेपालकी पौडीबाज गौरीका सिंह प्रतियोगिताकै युवा खेलाडी थिइन्। गौरिका, त्यतिबेला १३ वर्ष २ सय २५५ दिनकी थिइन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।