जीवनलाई प्रकाशमय बनाउन गुरुपरम्पराको महत्व : प्रदेश प्रमुख पौडेल


     एभरेस्ट आवाज    
     श्रावण ९ गते २०७८ मा प्रकाशित




पोखरा । गण्डकी प्रदेशका प्रदेश प्रमुख सीताकुमारी पौडेलले ज्ञानरुपी प्रकाशले अज्ञानरुपी अन्धकारलाई चिरेर जीवनलाई प्रकाशमय बनाउन गुरु परम्पराको महत्व रहेको बताएकी छन् ।

मानव मिलन संस्था पोखराले गुरु पूर्णिमाको अवसरमा संस्थाका संस्थापक नेपाल केशरी डा. मणीभद्रमुनी जी महाराजको चर्तुमास प्रवेश समारोहमा प्रमुख पौडेलले गुरुको महत्व दर्शाउँदै हरेक शिष्यले गुरुबाट प्राप्त ज्ञानको पालना गर्न सके जीवन सार्थक हुने बताए ।

गुरु परम्परा प्राचीन सनातन परम्परा रहेको जनाउँदै उहाँले गुरुले शिष्यलाई शिक्षा दिनेमात्रै नभएर आफ्नो आश्रममा राखेर पालना गर्नुपर्ने नियमको ज्ञान बाढ्ने सदीयौँदेखि चलिआएको परम्परा भएको बताए । द्रोणाचार्यले जस्तै हरेक गुरुले आफ्ना शिष्यलाई अर्जुन बनाउन प्रयासरत रहेको स्मरण गराउँदै उनले ज्ञान हासिल गरेपछि त्यो ज्ञानको पूर्ण पालना गरेर जीवनलाई ज्योर्तिरमय बनाउन सके मात्र गुरु प्रतिकोे सच्चा सम्मान हुने धारणा राखे ।

दिनप्रतिदिन बढ्दो सामाजिक द्धन्द्धको निरुपण गर्दै मानव मानव बीचको सम्बन्धलाई प्रगाढ बनाएर समानता सहिष्णुता र सह अस्तित्वका साथ अगाडि बढ्न आध्यात्मिक जगतको भूमिका महत्वपूर्ण हुने उनको भनाइ थियो । सो अवसरमा उहाँले संस्थाका संस्थापक डा. मुनीजी महाराजको पोखरामा हुन लागेको चर्तुमास प्रवेशको लागि शुभकामना समेत दिए ।

कार्यक्रममा डा. मणीभद्रमुनीजीले गुरु बन्नु भन्दा पहिला असल शिष्य हुन जरुरी रहेको बताए । उनले भने, “सबैलाई गुरु हुन मन पर्छ तर शिष्य भएर नियम पालना गर्न कठिन छ । शिष्य भएर गुरुले दिएको सन्देश पालना गर्न सके मात्र जीवनमा सत्मार्ग भेटिन्छ ।” उनले मानवले आफ्नो क्षणिक स्वार्थको लागि हिंसाको बाटो अपनाउँदै गएको जनाउँदै आचरण बदलेर सुन्दर शान्त समाजमा रमाउन मानवजगतलाई आग्रह गरे । जस्तो दृष्टि उस्तै सृष्टि हुने भएकाले सकारात्मक सोच राख्न उनको सुझाव थियो ।

कार्यक्रमा मानव मिलन अन्तराष्ट्रिय महिला अध्यक्ष कुशुम जैन र मानव मिलन पोखराका सल्लाहकार सावित्री शर्माले गुरु पूर्णिमाको महत्व र मुनिजीको चर्तुमास प्रवेशको बारेमा जानकारी दिएका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।