सराङ्कोटमा गुरुयोजनाले सार्थकता पाउँदै, शनिबार गणेश मन्दिरको शिलान्यास


     एभरेस्ट आवाज    
     श्रावण १० गते २०७८ मा प्रकाशित




सूर्योदयसहित हिमश्रृंखला दृश्यावलोकनका लागि प्रख्यात पोखराको पर्यटकीय गन्तव्य स्थल सराङ्कोटमा गणेश मन्दिर निर्माण शुरु भएको छ । सराङ्कोटमा निर्माण गर्न लागिएको गुरुयोजना अन्तर्गतको गणेश मन्दिरको शनिबार गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले शिलान्यास गरेका हुन् ।

पोखरा महानगरपालिका वडा नम्बर–१८ सराङ्कोटको टुप्पोमा सराङ्कोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समितिले निर्माण गर्न लागेको शिव मन्दिरको आडमा गणेश मन्दिर निर्माण गर्न लागिएको समितिका अध्यक्ष प्रेमबहादुर जिसीले जानकारी दिए । उनका अनुसार त्यहाँ ३ तले गणेश मन्दिर निर्माण गरिनेछ । यो मन्दिर गुरु योजना अन्तर्गत निर्माण गर्न लागिएको सबैभन्दा महत्वपूर्ण मन्दिर हो ।

सराङ्कोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समितिले ४० करोड भन्दा बढीको लागतमा धार्मिक तथा पर्यटकीय क्षेत्र पूर्वाधार निर्माण गरिरहेको छ । ५६ रोपनी क्षेत्रफलमा फैलिएको सो क्षेत्रमा गुरुयोजना अन्तर्गत शिव मन्दिर, गणेश मन्दिर, भ्यू टावर, सभाहललगायतका पूर्वाधार निर्माण भइरहेको छ । जस अन्तर्गत शिव मन्दिरका लागि मात्रै करीब १६ करोड खर्च भइसकेको छ । अब त्यहाँ मूर्ती प्रतिस्थापन गर्न मात्र बाँकी रहेको समितिका प्रचारप्रसार संयोजक कृष्ण थापाले जानकारी दिए ।

त्यस्तै १ करोड २५ लाखको लागतमा भ्यू टावर निर्माण गरिएको छ । जसको फिनिसिङ गर्न बाँकी छ । मन्दिरको तल्लो क्षेत्रमा सभाहल भवन बनाइएको छ । जहाँ ३ वटा सभाहलसहित १२ वटा कोठाहरु रहेका छन् । २ तले यो भवनमा संग्रहालय, पूजा सामग्रीका सामान राख्ने कोठा र पूजारी तथा अतिथि कक्ष बनाइएको छ ।

करीब ४० करोडको लागतमा निर्माण गर्न लागिएको सो क्षेत्रमा हाल २० करोड खर्च भइसकेको समितिले जनाएको छ । अझै थप २० करोड आवश्यक परेपनि समितिसँग ८÷९ करोड भएपनि ११÷१२ करोड अपुग रहेको समितिका अध्यक्ष प्रेमबहादुर जिसीले बताए । ‘काम आँटेका छौं, तर बजेट छैन । संघ, प्रदेश र स्थानिय तहको सहयोगको अपेक्षा गरिएको छ’–उनले भने । त्यसका अलावा सहयोगी मनका धनीहरुबाट पनि सहयोगको अपेक्षा गरिएको उनले बताए । यसअघी महायज्ञबाट संकलित रकम र संघ, प्रदेश र स्थानिय तहबाट आएको रकमले अहिलेसम्म काम गरिएको उनले जानकारी दिए ।

शिव मन्दिर भन्दा तीन सय मिटर उत्तर पश्चिममा बौद्ध गुम्बा निर्माण गर्ने योजना बनाइएको थियो । सराङ्कोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समिति मातहत रहेको १५ रोपनी जमिनमा निर्माण गर्ने भनिएको सो गुम्बाको योजना अहिले अलपत्र परेको छ । बुद्ध धर्मावलम्वी मुस्ताङका आरडी विष्टले बौद्ध गुम्बा निर्माण गर्न १६ करोड दिएपनि एमाले बाधक बनेपछि सो योजना अलपत्र परेको स्थानिय बताउँछन् । स्थानिय एमाले कार्यकर्ताले बौद्ध गुम्बा निर्माण गर्न नदिने भनेर अडान लिएपछि सो योजना अगाडि नबढेको बताइन्छ । तर यसबारे स्थानिय कोहिपनि खुलेर विरोधमा उत्रिएका छेनन् । श्रोतका अनुसार सराङ्कोट केवलकार प्रालिले आँखा गाढेपछि त्यहाँ बौद्ध गुम्बा निर्माणमा एमालेजन अनिच्छुक देखिएका हुन् ।

गुरुयोजना सफल भएमा दश गुणा पर्यटक बढ्ने अपेक्षा गरिएको सराङ्कोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समितिको अपेक्षा छ । समितिका अध्यक्ष प्रेमबहादुर जिसीले भने,‘हाल दैनिक १५÷१६ सय पर्यटक आउँछन्, यो योजना सफल भएपछि दैनिक ८÷१० हजार पर्यटक आउने अपेक्षा गरेका छौं ।’ घुम्ने तथा धर्मकर्म गर्ने धार्मिक तथा पर्यटनसँग सम्बन्धित पर्यटक आउने अपेक्षा रहेको उनको भनाई छ ।

पोखरा १८ का वडाध्यक्ष रणबहादुर थापाले पर्यटकीय क्षेत्र सराङ्कोटलाई प्रमुख गन्तव्यको रुपमा विकास गर्न गुरुयोजना कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे । उनले गुरुयोजना सफल बनाउन वडाको तर्फबाट सक्दो सहयोग रहेको बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।