नेपालका राष्ट्रिय फुटबल प्रशिक्षक अल्मुताइरीको राजीनामा !


     एभरेस्ट आवाज    
     श्रावण ११ गते २०७८ मा प्रकाशित




तस्बीरः एजेन्सी

नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले राजीनामा गर्ने घोषणा गरेका छन्।
एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङका कारण राजीनामा घोषणा गर्न बाध्य बनाएको उनले सामाजिक सञ्जाल फेसबुक अकाउन्टमा बताएका छन्।

नेम्बाङले बारम्बार समस्या खडा गरेको भनेर उनले आरोप लगाएका छन्। उनले सामाजिक सञ्जालमार्फत आफ्नो राजीनामा घोषणा गरेका हुन्। उनले लेखेका छन्, ‘प्रिय नेपाली समर्थकहरू … म एन्फाबाट राजीनामा गर्न गइरहेको छु र एन्फाका वरिष्ठ उपाध्यक्षका कारण राजीनामा गर्न गइरहेको छु। पछिल्ला तीन साता हरेक दिन उनले मसँग नाटक गरे । मलाई आशा छ, अब तपाई, पङ्कज नेम्वाङले खुसी महसुस गर्नु हुनेछ ।’

अल्मुताइरीको यस्तो स्टाटस आएपछि सामाजिक सञ्जालमा अल्मुताइरीको समर्थन र नेम्बाङको विरोधमा प्रतिक्रिया आइरहेका छन्। अल्मुताइरीलाई मन पराउने समर्थकहरूले सामाजिक सञ्जालमा नेम्बाङको चर्को आलोचना गरिरहेको देखिन्छ।

४ अप्रिल २०२१ मा कुवेती नागरिक अल्मुताइरीले नेपाली फुटबल टिमको बागडोर सम्हालेका थिए। उनको प्रशिक्षणमा नेपाली टोलीले एसिया कप छनोटको तेस्रो स्थानमा स्थान बनाइसकेको छ।

नेम्बाङ भन्छन्, ‘म माथि षडयन्त्र भयो, छानबीन होस’

उता, आल्मुताइरीले आरोप लगाएका एन्फाका बरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङ भने आफूमाथि गंभीर षडयन्त्र भएको बताएका छन्। आफूमाथि लागेको आरोपबारे छानबीन हुनुपर्नेमा उनको जोड छ।

उनले पत्रकारहरूसँग भनेका छन्, ‘ममाथि षड्यन्त्र भयो। एन्फाले यस विषयमा छानबीन गर्नुपर्छ। म दोषी देखिए राजीनामा दिन तयार छु। छानबिनबाट म दोषी भए म कारबाहीको भागिदार बन्नुपर्छ। अरु दोषी देखिए त्यही अनुसारको कदम चालिनुपर्छ। तर, छानबीन चाहिँ हुनुपर्छ र अहिले देखिएको समस्याको समाधान हुनुपर्छ।’

प्रवक्ता राई भन्छन्, ‘राजीनामा बुझाइएको छैन’

एन्फाका प्रवक्ता किरण राईले प्रमुख प्रशिक्षक अल्मुताइरीले सामाजिक सञ्जालमा लेखेपनि औपचारिक रुपमा राजीनामा नबुझाएको प्रतिक्रिया दिएका छन्। अल्मुताइरीले फेसबुकमा राजीनामाको स्टाटस लेखेपनि लिखित रुपमा नबुझाएको प्रवक्ता राईको प्रतिक्रिया छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।