काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले विश्वासको मत लिने तयारी गरेका छन् । कानुनतः एकल बहुमतको सरकार भएपनि व्यवहारमा दुई दल सहभागी भएकाले विपक्षीको माग अनुसार मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका हुन् ।
मंगलबार मन्त्रिपरिषद् बैठकपछि सरकारका प्रवक्ता वैजनाथ चौधरीले मुख्यमन्त्रीले छिटै प्रदेशसभाबाट विश्वासको मत लिने बताए । विपक्षी गठबन्धनले वैधानिकताबारे धेरै प्रश्न उठाएकाले छिट्टै मुख्यमन्त्रीले विश्वासको मत लिने उनले बताए । मत पाए सरकार चलाउने र नपाए सरकार छोडिदिने उनले बताए ।
प्रवक्ता चौधरीले जनता समाजवादी पाटीको विवादमा आयोगले उपेन्द्र यादव समूहलाई आधिकारिकता दिएपनि त्यसले लुम्बिनी प्रदेशमा तत्काल फरक नपार्ने दाबी गरे । संघीयतामा प्रदेशले फरक संरचना पनि बनाउन सक्ने भएकाले जसपा केन्द्रीय संरचना वा प्रदेश प्रमुख फेरबदलले सरकारलाई खासै असर नगर्ने उनको भनाई थियो ।
वैशाख १९ मा सरकार गठनका बेला लुम्बिनी प्रदेशसभामा रहेका ८१ सदस्यमध्ये एमालेका मात्र ४१ सांसद देखाएर मुख्यमन्त्रीमा शंकर पोखरेलले संविधानको धारा १६८ को उपधारा १ अनुसार शपथ लिएका थिए । सरकार गठनपछि अहिले एमालेका ३८ र जसपाका ३ गरी ४१ सदस्यको समर्थनमा सरकार टिकेको छ । विपक्षी गठबन्दनमा पनि ४१ सदस्य नै रहेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


देवघाटस्थित त्रिशूली नदीमा फेला परेका शवको व्यवस्थापन व्यास नगरपालिका–५ स्थित चैनपुर जङ्गल…






