पदमुक्त हुँदा कत्तिपनि दुःखी छैन : निःप्रदेश प्रमुख पौडेल


     एभरेस्ट आवाज    
     श्रावण १३ गते २०७८ मा प्रकाशित




गण्डकी प्रदेशकी निवर्तमान प्रदेश प्रमुख सीताकुमारी पौडेलले आफूलाई पदमुक्त गरेकोमा आफू कत्तिपनि दुःखी नबनेको बताएकी छन् । देउवा सरकारले पदमुक्त गरेको भोलिपल्ट पोखरामा पत्रकार भेटघाट गर्दै निवर्तमान प्रदेश प्रमुख पौडेलले समाज परिवर्तनका लागि राजनीतिको निर्मम बाटो अप्नाएर अघि बढेकाले आफू पदमुक्त हुनुलाई स्वाभाविक मानेको बताइन् । उनले अगाडि भनिन्,‘संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षधर भएकाले पनि यो निर्णयले मलाई कत्ति दुःखी बनाएको छैन ।’

निवर्तमान प्रदेश प्रमुख पौडेलले राजनीतिक अस्थिरताले देश नबन्ने बताइन् । उनले भनिन्,‘राजनीतिक अस्थिरताले देश बन्दैन, यो सत्य हो ।’ उनले विचार र आस्था फरक रहे पनि राष्ट्रिय समृद्धिको पक्षमा सबैले साझा उद्देश्य राखेर अघि बढ्नुपर्ने बताईन् । ‘बिचार फरक हुनसक्छ, आस्था फरक हुनसक्छ । तर राष्ट्रिय समृद्धिको पक्षमा भने हामी साझा उद्धेश्य लिएर अघि बढ्नुपर्छ भन्ने मेरो मान्यता छ’–उनले भनिन् ।

निवर्तमान प्रदेश प्रमुख पौडेलले चालु आर्थिक वर्षमा ‘प्रदेश प्रमुख शैक्षिक सुधार कार्यक्रम’का लागि प्रदेश सरकार मार्फत २२ करोड रुपैयाँ बजेट विनियोजन गर्न सफल भएको दाबी गरिन् । पौडेलले आफूले आफ्नो कार्यकालभरी संवैधानिक परिधिभित्र रहेर आफ्नो कर्तव्य पूरा गरेको बताइन् ।

प्रदेश प्रमुख भएलगत्तै पौडेल विवादमा परेकी थिईन् । तत्कालिन मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ सरकारलाई बचाउने प्रयास स्वरुप गरिएको प्रदेश प्रमुख फेरबदलमा परेर आएकी उनले पदबहाली गरेलगत्तै सभामुखलाई कारबाही गर्नुपर्ने अभिव्यक्ति दिएकी थिईन् । संवैधानिक पदमा रहेकी उनले निर्वाचित सभामुखलाई कारवाही गर्नुपर्ने अभिव्यक्ति दिएपछि संवैधानिक हैसियत बिर्सिएर अभिव्यक्ति दिएको भन्दै बिपक्षी पार्टीसहित आम सर्वसाधारणले आलोचना गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।